गान्तोक: एसकेएम सरकार बनिएको केवल चार वर्ष भित्रमा मुख्यमन्त्री प्रेमसिंह तामाङले राष्ट्रिय स्तरमा आफ्नो पहिचान दिएर देशमा नै सिक्किमको गरिमालाई बढाउने एक सफल नेतृत्व बन्न पुगेको र यसको लागि सम्पूर्ण सिक्किमेले गर्व गर्नुपर्ने एसकेएम पार्टीको भनाइ छ। पूर्व मुख्यमन्त्री पवन चामलिङको सरकारकालमा यसरी अन्य राज्यका मुख्यमन्त्रीले कुनै पनि विशेष कार्यक्रममा निमन्त्रणा दिएको अहिलेसम्म थाहा पाइएको छैन भन्दै अहिले राष्ट्रिय अनि अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमहरुमा मुख्यमन्त्री प्रेमसिंह तामाङलाई सहभागी हुने अवसर प्रदान गरिँदा मुख्यमन्त्रीको एक आदर्शवादी नीति, नम्रता र सरल स्वभावलाई सबैले मन पराएको ठहर गरेको छ। यसको लागि सम्पूर्ण सिक्किमे जनसाधारणले गर्व महसुस गर्नुपर्ने भनाइ छ। भर्खरै मात्र ओडिसामा भएको हक्की विश्वकप उद्घाटन समारोहमा त्यहाँका मुख्यमन्त्री नवीन पटनायक तथा खेलकुदका केन्द्रीय मन्त्री अनुराग ठाकुरको प्रमुख आतिथ्यमा सिक्किमका मुख्यमन्त्री पनि सहभागी हुने क्रममा राज्यको नाम राष्ट्रिय स्तरमा उच्चारण भएर प्रत्यक्ष प्रसारणको क्रममा विश्वमा नै मुख्यमन्त्रीसितै राज्यको नाम झल्किएको दाबी छ। यो खबरले आज समस्त राज्यवासीमा हर्षको माहोल छाएको छ उल्लेख गरेको छ। विगतमा पनि मुख्यमन्त्रीलाई देशका राष्ट्रपति, प्रधानमन्त्री लगायत अन्य राज्यका मुख्यमन्त्री तथा पूर्वोत्तर क्षेत्रका नेतृत्वहरुले ससम्मान निमन्त्रणा गरेर विभिन्न कार्यक्रमहरूमा निम्त्याउँदा सिक्किमेको शिर सर्वोच्च भएको उल्लेख गरेको छ। आज राज्य प्रगतिको दिशातर्फ अग्रसर भएको देख्न नसक्ने विपक्षीहरूले यस विषयमा विभिन्न टिप्पणी गरेर आरोप लगाउने गरेको आरोप लगाउँदै उनीहरूले सिक्किमका मुख्यमन्त्रीको लोकप्रियता र प्रसिद्धतामाथि डाहा गरिरहेको जनाएको छ। विपक्षीहरूले पूर्वको सरकारकालमा पूर्व मुख्यमन्त्री पवन चामलिङले पैसा तिरेर ख्याति कमाउने कार्य गरेको कुरा बुझ्नुपर्ने जिकिर गरेको छ। सरकार गठन भएको केवल चार वर्षको अल्पावधिमा मुख्यमन्त्री तामाङले बनाएको पहिचान आज राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा चिन्हित भएपछि उनलाई यस्ता वृहत कार्यक्रममा निम्तो गरिने कार्य भइरहेकोजनाएको छ।









