खरसाङ: पश्चिम बंगालमा शनिवार १ अगस्तदेखि भईरहेको जनगणनालाई लिएर खरसाङ नगरपालिकाको पहलमा एक सचेतना कार्यक्रम नगरपालिकामा सम्पन्न भएको छ। खरसाङ नगरपालिकामा सम्पन्न कार्यक्रममा खरसाङका विधायक सोनाम लामा, खरसाङ महकुमा शासक एंव खरसाङ नगरपालिकाको प्रशासक आईएएस प्रिया यादव, खरसाङ नगरपालिकाको अधिकारीहरु र खरसाङ क्षेत्रका वरिष्ठ व्यक्तिहरु उपस्थित रहेका थिए। यस कार्यक्रममा जनसाधारणले कसरी सेल्फ एन्युमेरेशन अर्थात् स्व गणना प्रक्रियामा भाग लिन सक्नेछन् भन्ने विषयमा जानकारी गराइएको छ। यस क्रममा खरसाङका विधायक सोनाम लामा, महकुमा शासक एंव खरसाङ नगरपालिकाको प्रशासक आईएएस प्रिया यादव, खरसाङ नगरपालिकाको तर्फबाट गोबिन अधिकारी र खरसाङको जनताको तर्फबाट वरिष्ठ नागरिक एंव खरसाङ नगरपालिकाको पूर्व चेयरम्यान पीसी अग्रवाल आदिले वक्तव्य राखेका थिए। यस कार्यक्रमलाई खरसाङ नगरपालिकाको फाइनेन्स अफिसर एंव यस जनगणनाको इन्चार्ज नोर्देन लामाले सञ्चालन गरेका थिए। यस क्रममा वरिष्ठ नागरिक पीसी अग्रवाल, विधायक सोनाम लामा लगायत अन्य वरिष्ठ व्यक्तिहरुको सेल्फ एन्युमेरेशन फारम भर्ने काम सम्पन्न गरिएको छ। यसै सभामा खरसाङ नगरपालिकाको विभिन्न समस्याहरु साथै यसको समाधान अनि नगरपालिकाको विकास र खरसाङ बजारको सर्वाङ्गीण विकास विषयमा पनि चर्चा परिचर्चा गरिएको थियो। कार्यक्रममा विधायक सोनाम लामाले यो जनगणनाले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा विकसित भारत २०४७ विषयमा कार्य गर्नलाई सजिलो हुने र यसले मानिसहरूको वर्ग छुट्टिने र काम गर्न सजिलो हुने बताएका छन्। उनले यो जनगणना महत्वपूर्ण भएकोले यस विषयमा सचेतना गरिनु आवश्यक रहेको र यसमाथि सबैले काम गर्न आवश्यक रहेको बताएका छन्। यस क्रममा महकुमा शासक एंव खरसाङ नगरपालिकाकी प्रशासक आईएएस प्रिया यादवले पनि जनगणना विषयमा सबैमा जागरुकता हुन आवश्यक रहेको बताउँदै यसमा सबैले साथ र सहयोग गर्नु पर्ने कुरामा जोड दिएकी थिइन्। कार्यक्रममा वरिष्ठ नागरिक एंव पूर्व नगरपालिका चेयरम्यान पीसी अग्रवालले आफ्नो तर्फबाट सल्लाह सुझावहरु राखेका थिए। यसको साथै खरसाङ नगरपालिकाको तर्फबाट गोबिन अधिकारीले खरसाङका विधायक सोनाम लामा समक्ष खरसाङलाई व्यवस्थित बनाउन हेतु विभिन्न सुझावहरु राखेका थिए। उनले खरसाङमा पर्यटकहरु नआउनुमा ट्राफिक समस्या एउटा महत्वपूर्ण कुरा रहेको बताउँदै यसको समाधानको लागि तीनवटा स्थानहरुको सुझाव राखेका छन्। उनले हाट बजार, एफसीआई गोदाम र रेलवे स्टेशन र मिनी मार्केटबीचको क्षेत्रमा ट्राफिक व्यवस्था सठीक रुपमा गरिनु सक्ने सम्भावना रहेको सुझाब दिएका छन्। उनले खरसाङको विकासको लागि नगरपालिकाको कर्मचारीहरु कटिबद्ध रहेको पनि बताएका छन्। यस कार्यक्रम साथै जनगणनाको पहिलो चरण विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको फाइनेन्स अफिसर एंव यस जनगणनाको इन्चार्ज नोर्देन लामाले प्रथममा जनसाधारणले se. census.gov. in मा गएर लग इन गर्नु पर्ने र फारम भर्ने काम गर्न पर्ने बताएका छन्। उनले यसमा १ देखि ३४ वटा प्रश्नहरुको उत्तर लेख्नु पर्ने र आफ्नो फोनमा आएको ११ वटा संख्या भएको कोर्ड सुरक्षित राख्न पर्ने बताएका छन्। उनले यस पहिलो चरण १ देखि १५ अगस्तसम्म चल्नेछ जसमा जनसाधारणले आफै वेवसाइटमा गएर सेल्फ एन्युमेरेशन अर्थात् स्व गणना प्रक्रियामा भाग लिन सक्नेछन् र १६ अगस्तदेखि कर्मचारीहरु घर घर आउने जानकारी गराएका छन्। लामाले जनसाधारणले फारम भरेर आफ्नो घर र परिवारको विवरण सही रुपमा भर्नु पर्ने जुन गोप्य रुपमा राखिने बताएका छन्। उनले जनगणना प्रत्येक १० वर्षमा हुने र पछिल्लो जनगणना २०११ मा भएको र २०२१ कोविडको कारणले नभएको र यसपाली २०२७ मा भईरहेको जानकारी गराएका छन्।











