खरसाङ: हामीले राजनीति मात्र होइन तर खरसाङको विकास र खरसाङलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा सबैजना मिलेर काम गर्नुपर्छ भनी खरसाङका विधायक सोनाम लामाले बताएका छन्। उनले खरसाङ नगरपालिकामा सम्पन्न एक कार्यक्रममा खरसाङ बजारको विकास र खरसाङलाई व्यवस्थित बनाउने विषयमा आफ्नो वक्तव्य राख्दै भने, खरसाङलाई पार्किङदेखि लिएर सबै कुरामा व्यवस्थित बनाउनुपर्छ। हामी राजनीतिक रुपमा मात्र होइन तर सबैलाई समेटेर काम गर्न चाहान्छौं।
खरसाङ बजारको विकाससितै कर संकलनपट्टि पनि ध्यान दिनुपर्छ। किनभने कर संकलन भएन भने सरकार कसरी चल्छ। नगरपालिकाले जनताको हितमा काम गर्दै कर संकलनमा पनि ध्यान दिनु आवश्यक छ।’ विधायक सोनाम लामाले पर्यटन विषयमा बोल्दै खरसाङमा पर्यटनको प्रशस्त सम्भावना छ र यसमाथि काम गर्न जरुरी छ भनी बताएका छन्। उनले खरसाङमा स्टेडियम निर्माणको विषयमा बोल्दै भने, खरसाङमा स्टेडियम निर्माण आवश्यक छ। सबैको समस्या पनि यही हो। खरसाङमा राम्रो र पुरानो खेलकूद संस्थाहरु पनि छन् जसले यसतर्फ ध्यान दिएर काम गरिरहेका छन्। खरसाङमा स्टेडियम निर्माणको समस्या पनि समाधान हुनेछ।’ विधायक सोनाम लामाले अघि भने, पछिल्लो सरकारले केही जाँझ नगरी सबैलाई लक्ष्मी भण्डारमा पैसा दिन्दै थियो तर नयाँ सरकारले जाँच गरेर सठीक व्यक्तिलाई मात्र पैसा दिने कार्य गरिरहेको छ।’ उनले राशनमा आँटा नदिएको विषयमा बोल्दै भने, राशनमा सबैले आँटा दिनु भन्दैछ तर आँटामा एकदमै नराम्रो र खान लायकको नभएकोले गहूँ दिएको हो कारण स्वास्थ्य विषयमा पनि ध्यान दिनु पर्ने हुन्छ। यसको लागि अब गाउँ गाउँमा स्वनिर्भर दलहरुलाई गहुँ पिसाउने मशीन दिइने र सबैले गहुँ पिसाउन सक्नेछन्।’
विधायक सोनाम लामाले अझ भने, सरकारको सोच जनताको लागि हो। म मेरो जिम्मेवारी पूरा गर्न चाहान्छु। मन्त्रीहरुलाई पनि खरसाङमा ल्याएर देखाएर खरसाङको लागि काम गर्न तत्पर छु। तर कर संकलनलाई कडाईको साथमा पालन गर्नु पर्ने हुन्छ। तर कानुनी रुपमा सबैमा लागु हुनुपर्छ। राजनैतिक पार्टी हेरेर होइन तर कानुन बमोजिम सबैले कर तिरेको हुनुपर्छ।’
उनले भने, जनताको आशा बेसी छ र जनताले बेसी कम्प्लेन गरिरहेका छन् र हामी हरेक समस्याको समाधान गर्न तत्पर छौं। खरसाङको विकास र खरसाङलाई व्यवस्थित बनाउन काम गर्न तयार छु।’











