गोर्खा जन पुस्तकालय खरसाङको साधारण सभा अनि चुनाव

8d4f8db5-8d80-40a3-84ba-bbf6ac670f14

खरसाङ: गोर्खा जन पुस्तकालय, खरसाङको सञ्चालन समितिको द्वय वार्षिक कार्यकाल पूरा भएको जानकारी गराउँदै एक प्रेस विज्ञप्ति जारी गर्दै सचिव विनोद रसाइलीले साधारण सभा अनि सञ्चालन समितिको चुनाव प्रक्रिया आगामी १९ जुलाई आइतबारको दिन सम्पन्न हुने कुरा साझा गरेका छन्।पुस्तकालयले प्रत्येक दुई वर्षमा सञ्चालन समितिको चुनाव गोजपुको संविधानअनुरूप गोप्य मतदानद्वारा गर्नेछ।जम्मा २१ सदस्यीय कार्यकारी समितिमा १७ सदस्यहरूलाई मतपत्रमार्फत् चयन गरिन्छ भने रहल चारजना सदस्यलाई पछिबाट कार्यकारी समितिले चयन गर्दछ। सम्पूर्ण चुनावमा यथासम्भव पारदर्शिता र निष्पक्ष बनाइराख्न पुस्तकालयले अलग एक चुनाव समिति गठन गर्दछ।तीन सदस्यीय चुनाव समितिमा वर्तमान कार्यकारी समितिको मासिक सभामा पारित निर्णयअनुसार यसचोटि वरिष्ठ अधिवक्ता मणिकचन्द प्रधान, पूर्वप्रधान अध्यापक तथा वरिष्ठ समाजसेवी भीमबहादुर छेत्री अनि आकाशवाणी खरसाङका पूर्व कार्यक्रम निष्पादक जगतप्रसाद तामाङ रहनेछन्। चुनावप्रक्रियाको सम्पूर्ण औपचारिकता आगामी ३० जूनदेखि शुरू भएर आगामी १९ जुलाईको दिन परिणाम घोषणापछि समाप्त हुनेछ।उनले क्रमबद्धरूपले जनाएअनुसार आगामी ३० जूनदेखि ३ जुलाईको दिन अपरान्ह ४ बजीदेखि बेलुकी ६ बजेसम्म नामाङ्कन पत्र वितरण गरिनेछ, ४ अनि ५ जुलाईको दिन नामाङ्कन पत्र बुझाउने मिति, ६ जुलाईको दिन नामाङ्कन पत्र जाँच, ७ जुलाईको दिन नामाङ्कन पत्र फिर्ता, 8 जुलाई वैध मतदान सूची प्रकाशित अनि १९ जुलाईको दिन मतदान सम्पन्न हुनेछ। अघिल्ला सबै चुनावसम्बन्धी प्रक्रियाको निर्धारित समय अपरान्ह ४ बजीदेखि ६ बजी रहनेछ भने मतदान प्रक्रियाको समय पूर्वान्ह १० बजीदेखि मध्यान्ह १ बजीसम्म रहनेछ। सदस्यहरूलाई पत्राचार गरिए तापनि समयमा सूचना नपाउन पनि सक्छन्। त्यसर्थ, यसै विज्ञप्तिलाई गोजपुको आधिकारिक सूचना सम्झेर गोजपुको गरिमा र श्रीवृद्धिको निम्ति योग्य र समय दिनसक्ने कर्मठ सदस्यहरूलाई चुनावमा सहभागी भइदिनाको निम्ति वर्तमान सञ्चालन समितिको पक्षबाट सचिवले आह्वान गरेका छन्।यसबाहेक उक्त दिन साधारण सभा पनि आयोजित गरिने हुनाले प्रत्येक सदस्यले गोजपुको सुन्दर भविष्य निर्माणमा आफ्नो जिम्मेवारी बोध गरी उपस्थित भइदिने निवेदनसँगै सभामा आफ्नो बहुमूल्य सुझाव राखिदिने पनि आग्रह गरेका छन्।यसै विज्ञप्तिमा आगामी १३ जुलाईको दिन गोजपुले सधैँ झैँ यसपालि आदिकवि भानुभक्त आचार्यको ११४औँ जन्म जयन्ती खुबै धुमधामसँग पालन गर्ने सुनिश्चित गरेको छ।कार्यक्रमको विशेष आकर्षण आदिकवि भानुभक्तद्वारा रचित अन्तरविद्यालय रामायण पाठ प्रतियोगिता रहनेछ जसमा विजयी विद्यालय तथा विद्यार्थीहरूलाई नगद पुरस्कार, ट्रफी र प्रमाण पत्रद्वारा सम्मान जनाइनेछ। यसको साथै गोर्खा जनपुस्तकालय खरसाङको‌ तर्फबाट दुईजना वरिष्ठ साहित्यकारहरु‌ भागीरथ रावत र लोकनाथ चापागाईंको निधनमा श्रध्दाञ्जली अर्पण गर्दै शोकित परिवारमा गहिरो समवेदना प्रकट गरेको जानकारी सचिव विनोद रसाइलीले दिएका छन्।

About Author

Advertisement