गोर्खा एक भएर उभिन सकेन भने गोर्खाको सपना सपना नै भएर रहनेछ – अनित थापा

7f342475-9992-46ca-b0ba-829dd843ddf4

खरसाङ (६ सेप्टेम्बर): खरसाङको पंखाबारी, लङ्गभ्यू, अम्बटे समष्टिमा आयोजित भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (बीजीपीएम) को कर्मी सभामा पार्टी अध्यक्ष अनित थापाले गोर्खाल्यान्ड, पार्टीको भावी रणनीति र वर्तमान राजनीतिक परिस्थितिबारे आफ्नो धारणा स्पष्ट पारे। उनले जनताको भावनालाई सम्बोधन गर्दै पार्टीको नीति र दिशानिर्देशबारे विस्तृत रूपमा मन्तव्य राखे। सभालाई सम्बोधन गर्दै थापाले “भोट हालेर गोर्खाल्याण्ड पाइँदैन भनेर जान्दा जान्दै पनि बीजेपीले गोर्खाल्याण्ड दिन्छ भन्ने आस्था राखेर नै जनताले भोट हालेका हुन्” भनी जनताको भावनालाई प्रष्ट पारे। उनले “जनताले गोर्खाल्याण्डको निम्ति विजयी बनाएका हुन्” भन्दै बिजीपीएम पार्टी “सदैव गोर्खाल्यान्डको पक्षमा” रहेको स्पष्ट पारे। थापाले गोर्खाल्याण्डको नाममा भोट माग्नेहरूको दायित्वबारे कडा शब्दमा भने,“गोर्खाल्याण्डको नाममा भोट माग्नेहरूको दायित्व गोर्खाल्याण्ड ल्याउनु हो। यदि गोर्खाल्याण्ड ल्याउनु सक्दैनौँ भनेर भन्छौं भने हामी बीजीपीएम पार्टीले अलग सोच राख्नेछ।”
पार्टीको आगामी कार्यक्रमबारे जानकारी दिँदै थापाले भने, “९ तारिख बीजीपीएम पार्टीको स्थापना दिवस छ। घर छोडेर जानेहरू पनि स्थापना दिवसमा आउन सक्नुहुनेछ। तपाईँहरूले पनि बीजीपीएम पार्टीलाई खडा गर्नुमा ठूलो योगदान दिनुभएको छ।” उनले पार्टीप्रति कार्यकर्ताहरूको समर्पणको कदर गर्दै “अनित थापाको हृदय ठूलो छ” भनी आत्मीयता व्यक्त गरे। थापाले पहाडका राजनीतिक दलहरूको अवस्थाबारे गम्भीर टिप्पणी गर्दै भने, “पहाडको कुनै पनि राजनीतिक दलहरू आफ्नो भरमा अनि आफ्नो खुट्टामा उभिएको छैन रहेछ। हामी आफ्नो भरमा अनि आफ्नै खुट्टामा उभिने छौं।”
बङ्गाल विभाजनको विषयमा उनले भने, “बङ्गालको सबै मुख्यमन्त्रीहरूले बङ्गाल विभाजन हुँदैन नै भने। तर मुख्यमन्त्रीले विभाजन हुँदैन भन्दैमा रोकिनु हुँदैन। अब पनि गोर्खा एक भएर उभिन सकेन भने गोर्खाको सपना सपना नै भएर रहनेछ।”
थापाले आफ्नो पार्टीको इमानदारीबारे स्पष्ट पार्दै भने, “हामीले कहिले गोर्खाल्याण्डको नाममा भोट मागेनौ। ढाँटेर कुनै चुनाव लडेनौ।” साथै उनले “हामी अहिले सरकारमा पनि छैनौँ अनि सत्ता पनि त्यागिदिएका हौँ। तरै पनि जनताको चाहना अनि आकर्षण बिजीपीएम प्रति बढेर गएको छ” भनी पार्टीप्रति जनताको बढ्दो विश्वासलाई उल्लेख गरे।
उनले भावुक हुँदै भने, “पहाडले वर्तमान समयमा पाउनु होइन धेरै कुरा गुमाएको छ। हाम्रो झुक्किने दिन गयो।”
बीजीपीएम पार्टीको भविष्यबारे आत्मविश्वास व्यक्त गर्दै थापाले भने,“बिजीपीएम पार्टी लामो समयसम्म रहने पार्टी हो। अहिले बिजीपीएमका कार्यकर्ताहरूमा पाउँछु भन्ने होइन दिन्छु भन्ने सोच छ। आफ्नो लक्ष्य आर्जन गर्न सक्छु, त्यसको निम्ति काम गर्छु भन्ने जोस छ। यही जोश अनि जागरले हामी हाम्रो लक्ष्यमा पुग्छौं।”
उल्लेखनीय छ, अनित थापाले गत १७ जूनको दिन जीटीएको मुख्य कार्यपालको पदबाट राजीनामा दिइसकेका छन्। बीजीपीएमको छैटौं स्थापना दिवस आगामी ९ सेप्टेम्बरको दिन खरसाङमा आयोजना हुँदैछ। यो कार्यक्रम विधानसभा चुनावपछि पहाडमा पार्टीको पहिलो प्रमुख शक्ति प्रदर्शन मानिएको छ।

About Author

Advertisement