गान्तोक: राजधानी गान्तोकमा दशकौँको पर्खाइपछि आज ‘माटो कवि’ जीवन थिङको मूर्ति स्थापनाको सपना साकार भएको छ। गान्तोकको मनन केन्द्र र रचना बुक्स नजिकै रहेको जीवन थिङ मार्गमा आज उनको मूर्तिको विधिवत् अनावरण गरियो। अखिल सिक्किम तामाङ बौद्ध संघको तत्त्वावधानमा आयोजित विशेष समारोहमा गान्तोक नगर निगमकी मेयर छिरिङ पाल्देन भोटियाले मूर्तिको अनावरण गरेकी हुन्। समारोहलाई सम्बोधन गर्दै मेयर भोटियाले यस ऐतिहासिक क्षणको साक्षी बन्न पाउनु गौरवको कुरा रहेको बताउँदै जीवन थिङ जस्ता माटोप्रेमी कवि र साहित्यकारको योगदानको उचित मूल्याङ्कन भएको धारणा व्यक्त गरिन्।
समारोहमा पत्रकार तथा कवि प्रवीण खालिङले जीवन थिङको जीवनीमाथि विस्तृत प्रकाश पार्दै उनले विश्व साहित्यका हस्तीहरू जोहन किट्स र भिक्टर हारा जस्तै छोटो जीवन बाँचेर पनि अमर कर्महरू गरेको बताए। १९ डिसेम्बर १९५५ मा जन्मिएका थिङले कलिलो उमेरमै लेखेका कथाहरूले अन्तर्राष्ट्रिय मान्यता पाएको र उनले नेपालबाट ‘रत्नश्री स्वर्णपदक’ समेत प्राप्त गरेको जानकारी खालिङले गराए। यसैगरी, नेपाली साहित्य परिषद् सिक्किमका महासचिव भीम राउतले सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको अवसरमा यस मूर्तिको स्थापना हुनु सबै सिक्किमेलीका लागि गौरवको विषय रहेको बताए। उनले यस मार्गको नामाकरण पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको पालामा भएको र वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा मूर्ति स्थापना भएकोमा खुसी व्यक्त गरे। कार्यक्रममा उप-मेयर सारा लामा, साहित्यकार, पत्रकार र थिङका परिवारका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।










