गान्तोक: सिक्किम राज्य एनएसएस सेल (खेलकुद तथा युवा मामिला विभाग) र भारत सरकारको युवा मामिला तथा खेलकुद मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित पाँच दिने ‘उत्तर-पूर्वी एनएसएस महोत्सव २०२६’ सोमबार गान्तोकको एससी भवनमा भव्य रूपमा सम्पन्न भएको छ। “म होइन, तिमी” (नट मी बट यू) भन्ने आदर्श वाक्यका साथ स्वयंसेवकहरूमा सामाजिक र नागरिक जिम्मेवारीको भावना विकास गर्ने उद्देश्यले यो महोत्सव आयोजना गरिएको हो।

महोत्सवको समापन समारोहमा राज्य खेलकुद विकास बोर्डका अध्यक्ष रिन्जिङ डब्लु चोफेल मुख्य अतिथि र खेलकुद तथा युवा मामिला विभागका ओएसडी गोविन्द पौड्याल विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। समापनको पहिलो सत्रमा सिक्किम विश्वविद्यालयका प्राध्यापक भोक आचार्यले जैविक विविधता र फोहोरमैला व्यवस्थापनबारे प्रस्तुति दिनुभएको थियो। दोस्रो सत्रमा अपराध अनुसन्धान शाखा गान्तोकका डीआईजी तेन्जिङ लोदेन लेप्चाले साइबर अपराधको वर्तमान अवस्था र यसबाट बच्ने उपायबारे जानकारी दिँदै साइबर ठगीको सिकार भएमा तत्काल राष्ट्रिय हेल्पलाइन नम्बर १९३० मा सम्पर्क गर्न आग्रह गर्नुभयो। समारोहमा एनएसएस सेलकी उपनिर्देशक पेदेन्ला भुटियाले पाँच दिने कार्यक्रमको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

उत्तर-पूर्वी राज्यहरूको समृद्ध संस्कृति र परम्परा झल्काउने सांस्कृतिक प्रस्तुति पश्चात मुख्य अतिथिले विभिन्न प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गर्नुभयो। हाजिरीजवाफ (क्विज) प्रतियोगितामा नागाल्यान्ड प्रथम, अरुणाचल प्रदेश द्वितीय र मिजोरम तृतीय भए। त्यसैगरी, पावरपोइन्ट प्रस्तुतिमा मेघालयले पहिलो स्थान हासिल गर्दा सिक्किम र नागाल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे। सांस्कृतिक आदानप्रदान विधामा अरुणाचल प्रदेश प्रथम, मिजोरम द्वितीय र त्रिपुरा तृतीय बने भने उत्कृष्ट समग्र प्रदर्शनका लागि त्रिपुरालाई ‘बेस्ट कन्टिन्जेन्ट’ (सर्वोत्कृष्ट टोली) को पुरस्कार प्रदान गरियो। मुख्य अतिथिले महोत्सव समापनको औपचारिक घोषणा गरेसँगै एनएसएस सेलकी सहायक निर्देशक बबिता क्षेत्रीले धन्यवाद ज्ञापन गर्नुभएको थियो।










