गान्तोक: जिल्ला विपद् व्यवस्थापन प्राधिकरण, गान्तोकद्वारा आज जिल्ला भवनको सभाकक्षमा जिल्ला स्तरीय मनसुन पूर्वतयारी बैठक सम्पन्न गरिएको छ। बैठकको अध्यक्षता जिल्ला कलेक्टर तथा जिल्ला विपद् व्यवस्थापन प्राधिकरण, गान्तोकका अध्यक्ष रोहन अगावानेले गरेका थिए।
आफ्नो सम्बोधनमा जिल्ला कलेक्टर रोहन अगावानेले कमजोर जल निकास प्रणाली तथा पानी व्यवस्थापनको अव्यवस्थित अवस्थालाई पहाडी क्षेत्रमा वातावरणीय क्षतिको मुख्य कारणमध्ये एक भएको बताए। उनले जलवायु परिवर्तनका कारण छोटो समयमै अत्यधिक वर्षा हुने क्रम बढेको उल्लेख गर्दै अहिलेका जल निकास प्रणाली तथा पानी सङ्कलन केन्द्रहरू यस्ता परिस्थितिलाई सामना गर्न सक्षम नभएको बताए। त्यसैले दिगो तथा सबल पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।
उनले गान्तोकका अधिकांश शहरी क्षेत्रहरू समथर भूभागमा नभई डाँडाकाँडा र भीरालो स्थानमा विकसित भएकाले ती क्षेत्रहरू प्राकृतिक विपद्को दृष्टिले अत्यन्त संवेदनशील रहेको उल्लेख गरे। उनले सडक नाली, झोरा तथा खानेपानी पाइपहरूले जल निकास अवरुद्ध गर्ने समस्यालाई विशेष प्राथमिकताका साथ समाधान गरिने बताए।
जिल्ला कलेक्टरले विपद् व्यवस्थापन ऐन २००५ को धारा ३० अन्तर्गत जिल्ला विपद् व्यवस्थापन प्राधिकरणलाई जोखिम व्यवस्थापनमा संलग्न विभागहरूलाई निर्देशन दिन सक्ने अधिकार रहेको जानकारी गराए। उनले त्यस्ता निर्देशनको पालना नगरेमा ऐनको धारा ५१ अनुसार कारबाही हुनसक्ने पनि स्पष्ट पारे।
उनले सम्पूर्ण जिल्लाको नक्साङ्कन गरी जोखिमयुक्त स्थानहरूको पहिचान गर्न विपद् व्यवस्थापन टोली गठन गरिने जानकारी दिए। उक्त टोलीमा विपद् व्यवस्थापन संयोजक, पर्यवेक्षक तथा सहायकहरू रहनेछन्। साथै जिल्लाभित्र रहेका विपद् व्यवस्थापनसँग सम्बन्धित सम्पूर्ण उपकरण, सवारीसाधन तथा अन्य स्रोतसाधनको सूची पनि तयार गरिने उनले बताए।
गान्तोक जिल्लाका प्रहरी अधीक्षक महेन्द्र सुब्बाले आपतकालीन अवस्था तथा प्राकृतिक विपद्का बेला सबै विभागबीच सक्रिय समन्वय र सहकार्य आवश्यक रहेको बताए। उनले अग्रपङ्क्तिमा खटिने कर्मचारीहरू जिम्मेवार हुनुपर्नेमा जोड दिँदै आपतकालीन अवस्थामा शीघ्र निर्णय लिन सक्ने क्षमता आवश्यक रहेको उल्लेख गरे। प्राकृतिक विपद् जुनसुकै बेला आउन सक्ने भएकाले सधैं तयारी अवस्थामा रहनुपर्ने उनको भनाइ थियो।
जिल्ला अध्यक्ष बलराम अधिकारीले पनि विपद्को सामना गर्न सधैं तयार रहनुपर्ने आवश्यकता औंल्याए। उनले विभागहरूबीच प्रभावकारी समन्वय कायम गरी विपद् व्यवस्थापन कार्यलाई सहज बनाइनुपर्ने बताए। जल जमाव रोक्न नालीहरूबाट माटो तथा अवरोध हटाउनुपर्ने तथा राहत सामग्री र राहत शिविरको तयारी सुनिश्चित गर्नुपर्नेमा पनि उनले जोड दिए।
बैठकमा सडक तथा पुल विभाग, राष्ट्रिय राजमार्ग प्रभाग, राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम, सीमा सडक संगठनका विभिन्न इकाइ, वन तथा वातावरण विभाग, विद्युत विभाग, खाद्य तथा नागरिक आपूर्ति विभाग, एसटीएनएम अस्पताल, केन्द्रीय रेफरल अस्पताल, शहरी विकास विभाग, गान्तोक नगर निगम, जनस्वास्थ्य अभियांत्रिकी विभाग तथा जलस्रोत एवं नदी विकास विभागका अधिकारीहरूले मनसुन पूर्वतयारी योजना प्रस्तुत गरेका थिए।
प्रस्तुतिमा मनसुनजन्य विपद्सँग जुध्न तयार गरिएका कार्ययोजना, मानक कार्य सञ्चालन प्रक्रिया, जोखिमयुक्त क्षेत्रको पहिचान, रोकथामका उपाय, जनशक्ति तथा उपकरण परिचालन र विभिन्न स्थानमा देखिएका चुनौतीबारे जानकारी दिइएको थियो। साथै आपतकालीन समन्वयका लागि तोकिएका अधिकारीहरूको सम्पर्क विवरण पनि सार्वजनिक गरिएको थियो।
यसअघि जिल्ला विपद् व्यवस्थापन प्राधिकरणका संयुक्त निर्देशक सोनाम वाङ्ग्याल लेप्चाले स्वागत मन्तव्य राखेका थिए भने धन्यवाद ज्ञापन गान्तोकका उपमण्डल अधिकारी महेन्द्र छेत्रीले गरेका थिए। बैठकमा विभिन्न विभागका अधिकारी तथा सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो।










