गान्ताेक: भारतको निर्वाचन आयोग (ईसीआई) को निर्देशिका अनुसार सिक्किमको ग्याङटोक जिल्लाअन्तर्गतका विभिन्न सभा क्षेत्रहरूमा जारी ‘विशेष सघन पुनरीक्षण’ (एसआईत्तर) कार्यक्रमअन्तर्गत बुधबार सूचना तथा दाबी-विरोधमाथि सुनुवाइ सम्पन्न भएको छ। मतदाता नामावली पुनरीक्षण प्रक्रियाका क्रममा प्राप्त निवेदनहरूको छानबिन गरी नामावलीलाई अध्यावधिक, पारदर्शी र पूर्ण रूपमा त्रुटिरहित बनाउने उद्देश्यले यो कारबाही अघि बढाइएको हो।ग्याङटोक जिल्ला सूचना अधिकारीले दिएको जानकारी अनुसार जिल्लाभरका विभिन्न ९ वटा सभा निर्वाचन क्षेत्रहरूमा गरी कुल २ हजार ४ सय २१ वटा दाबी तथा आपत्तिमाथि सुनुवाइ गरिएको छ। जसअन्तर्गत २३-स्यारी सभा क्षेत्रमा सबैभन्दा बढी ५ सय ९६ वटा र २५-अपर तादोङ सभा क्षेत्रमा ५ सय ३८ वटा निवेदनमाथि सुनुवाइ भएको छ। त्यसैगरी २६-अरिथाङमा ३ सय २१, २७-ग्याङटोकमा २ सय १७, २४-मार्टम-रुमटेकमा २ सय १३ र २८-अपर बुर्तुक सभा क्षेत्रमा २ सय ८ वटा निवेदनमाथि प्रक्रिया अघि बढाइएको छ। यस्तै १६-तुमिन-लिङ्गीमा १ सय ८१, १७-खामडोङ-सिङताममा १ सय २७ र ३२-सङ्घ सभा क्षेत्रमा २० वटा सुनुवाइ सम्पन्न भएका छन्।निर्वाचन दर्ता प्रक्रियाको शुद्धता र विश्वसनीयता कायम राख्दै सम्पूर्ण योग्य नागरिकहरूको नाम नामावलीमा समावेश सुनिश्चित गर्नका लागि यो विशेष अभियान सञ्चालन गरिएको ग्याङटोक प्रशासनले जनाएको छ।










