खेलकुद विभागद्वारा गान्ताेकमा निर्देशकस्तरीय समन्वय बैठक सम्पन्न

FB_IMG_1784726476052

सिक्किम खेलकुद नीति २०२६ को मस्यौदा तयार गरिने

गान्ताेक: सिक्किम सरकारको खेलकुद तथा युवा मामिला विभागको आयोजनामा ग्याङटोक जिल्लाअन्तर्गतका शारीरिक शिक्षा शिक्षक (पीईटी), प्रशिक्षक तथा अधिकारीहरूबिच एक निर्देशकस्तरीय समन्वय बैठक सम्पन्न भएको छ। ग्याङटोकको रेसीथाङ खेलकुद परिसरमा आयोजित बैठकको अध्यक्षता खेलकुद तथा युवा मामिला विभागका निर्देशक डा. आरबी विश्वकर्माले गरेका थिए।
​बैठकमा निर्देशक डा. विश्वकर्माले खेलकुद पूर्वाधारको आधुनिकीकरण, जनशक्ति विकास र फिट इन्डिया अभियानका माध्यमबाट ‘विकसित भारत’ निर्माण गर्ने लक्ष्य राखिएको ‘खेलो भारत नीति २०२५’ बारे विस्तृत प्रस्तुति दिएका थिए। उनले सिक्किममा खेल संस्कृतिलाई प्रवर्द्धन गर्न जिल्ला अधिकारी, प्रशिक्षक र विद्यालयका खेलकुद संयोजकहरूले एकआपसमा समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिए।
​यसैगरी बैठकमा विद्यालयहरूमा हप्ताको एक पटक प्रशिक्षकहरूको भ्रमण, मुख्यमन्त्री ‘वन माइल रन’ अभियान, र सन् २०२७ मा सिक्किममा आयोजना हुने ३९औँ राष्ट्रिय खेलकुदलाई लक्षित गरी तेक्वान्दो खेलको प्रवर्द्धन गर्ने विषयमा छलफल भयो। विद्यार्थीहरूको शारीरिक क्षमता वृद्धि गर्न र खेलाडीहरूको केन्द्रीय डाटाबेस राख्नका लागि राष्ट्रिय खेलकुद भण्डार प्रणाली (एनएसआरएस) को प्रयोगबारे पनि जानकारी गराइयो।
​प्रधानमन्त्रीको अध्यक्षतामा सम्पन्न मुख्यसचिवहरूको राष्ट्रिय सम्मेलनको निर्देशनानुसार ५ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीहरूका लागि विद्यालयमा साप्ताहिक फिटनेस कक्षा सञ्चालन गर्ने र वार्षिक प्रगति विवरण (रिपोर्ट कार्ड) मा फिटनेस स्कोर समावेश गर्ने निर्णय भएको छ। बैठकमा सहभागीहरूलाई ‘सिक्किम राज्य खेलकुद नीति २०२६’ को मस्यौदा तयार पार्नका लागि आ-आफ्नो सुझाव बुझाउन निर्देशन दिइएको छ। कार्यक्रमको सञ्चालन उपनिर्देशक नोर्बु छिरिङ भोटियाले स्वागत मन्तव्यबाट गरेका थिए भने सहायक निर्देशक भानु चापागाईँले धन्यवाद ज्ञापन गर्दै बैठक समापन गरेका थिए।

About Author

Advertisement