बन्धन बैंकको कुल कारोबार ३.२ लाख करोड नाघ्यो

b522d0bd-6fe4-44d9-9d7c-baa1a2934e9d

पहिलो त्रैमासिकमा ५०२ करोड खुद नाफा

कोलकाता: भारतको अग्रणी निजी क्षेत्रको वित्तीय संस्था बन्धन बैंकले आर्थिक वर्ष २०२६-२७ को पहिलो त्रैमासिक (अप्रिल-जुन) को वित्तीय नतिजा सार्वजनिक गर्दै कुल व्यवसायमा ११ प्रतिशतभन्दा बढीको वृद्धि दर्ता गरेको छ। यससँगै बैंकको कुल कारोबार ३.२ लाख करोड रुपैयाँ भन्दा माथि पुगेको छ। समीक्षा अवधिमा बैंकले ५०२ करोड खुद नाफा (पीएटी) अर्जित गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ३७२ करोड भारुको तुलनामा ३५ प्रतिशतको आकर्षक वृद्धि हो। निष्कृय कर्जा व्यवस्थापनमा आएको सुधार तथा जोखिम न्यूनीकरणका लागि गरिने प्रावधानमा ४० प्रतिशतले कमी आएकाले नाफामा उच्च वृद्धि देखिएको बैंकले जनाएको छ।
​वित्तीय सूचकहरूको विश्लेषण गर्दा बैंकको कुल निक्षेप अघिल्लो वर्षको १.५५ लाख करोड भारुबाट ७ प्रतिशतले बढेर १.६५ लाख करोड भारु पुगेको छ। सोही अवधिमा कुल ऋण प्रवाह वार्षिक आधारमा १६.४ प्रतिशतले वृद्धि भई १.५६ लाख करोड भारु पुगेको छ। कुल निक्षेपमा खुद्रा (रिटेल) निक्षेपको हिस्सा ७४ प्रतिशत पुगेकाले बैंकको निक्षेप आधार थप मजबुत बनेको देखिन्छ। चल्ती तथा बचत खाता (कासा) मा रहेको रकम ४८,४७९ करोड भारु पुगेको छ, जुन कुल निक्षेपको २९.४ प्रतिशत हो। बैंकको वित्तीय स्थिरता दर्शाउने पुँजी पर्याप्तता अनुपात १८.२ प्रतिशतको सुदृढ स्थितिमा छ, जुन नियामक भारतीय रिजरभ बैंक (आरबीआई) ले तोकेको न्यूनतम सीमाभन्दा धेरै माथि हो। यसैगरी बैंकको खुद ब्याज आम्दानी ५.९ प्रतिशतले बढेर २,९२१ करोड भारु पुगेको छ भने खुद ब्याज मार्जिन ६.२ प्रतिशतमा स्थिर रहेको छ।
​सम्पत्तिको गुणस्तरका हिसाबले पनि अघिल्लो वर्ष तथा अघिल्लो त्रैमासिकको तुलनामा उल्लेख्य सुधार आएको छ। अघिल्लो वर्षको सोही अवधिमा ४.९६ प्रतिशत रहेको कुल खराब कर्जा (ग्रॉस एनपीए) घटेर ३.१५ प्रतिशतमा झरेको छ भने खुद खराब कर्जा (नेट एनपीए) अनुपात ०.९३ प्रतिशतमा सीमित भएको छ। सम्भावित कर्जा नोक्सानीका लागि छुट्याइएको रकम ४०.५ प्रतिशतले घटेर ६८३ करोड भारुमा सीमित भएको छ। पहिले लघुवित्त क्षेत्रमा बढी ध्यान केन्द्रित गर्दै आएको बन्धन बैंकले हाल आफ्नो एसेट बेसमा विविधता ल्याउन सुरक्षित कर्जातर्फ जोड दिएको छ। यस त्रैमासिकमा बैंकको सुरक्षित कर्जा वार्षिक २७ प्रतिशतले बढेको छ र कुल ऋण पोर्टफोलियोमा यसको हिस्सा ५७ प्रतिशत पुगेको छ।
​हाल बन्धन बैंकले भारतका ३६ मध्ये ३५ वटा राज्य तथा केन्द्र शासित प्रदेशहरूमा रहेका ६,४०० भन्दा बढी बैंकिङ आउटलेटहरूमार्फत करिब ३.२ करोड ग्राहकहरूलाई सेवा दिइरहेको छ। बैंकमा कार्यरत कर्मचारीको संख्या ७४,५०० भन्दा बढी रहेको छ भने खुद्रा कारोबारको ९८ प्रतिशतभन्दा बढी हिस्सा डिजिटल माध्यमबाट भइरहेको छ।
​वित्तीय नतिजाबारे टिप्पणी गर्दै बैंकका प्रबन्ध निर्देशक तथा मुख्य कार्यकारी अधिकृत पार्थ प्रतिम सेनगुप्ताले आर्थिक वर्ष २०२६-२७ को पहिलो त्रैमासिकको यो प्रदर्शन बन्धन बैंकको वित्तीय मजबुती, कर्मचारीहरूको प्रतिबद्धता र सेयरधनीहरूको विश्वासको प्रतीक भएको बताए। सामान्यतया पहिलो त्रैमासिक बैंकिङ क्षेत्रका लागि अलि सुस्त मानिने भए तापनि यसपटक उल्लेख्य लचिलोपन र वृद्धि देखाउन सफल भएको उनको भनाइ छ। आगामी दिनमा ग्राहक-केन्द्रित सेवा, प्रवधिको विस्तार र तथ्याङ्कमा आधारित विश्लेषणको माध्यमबाट दिगो र भविष्य-उन्मुख विकास हासिल गर्न प्रतिबद्ध रहेको बैंकले जनाएको छ।

About Author

Advertisement