गान्ताेक: दादी प्रकाशमणिजीको स्वर्गारोहण दिवस तथा विश्व भ्रातृत्व दिवसको अवसरमा आगामी २५ अगस्टका दिन ग्याङटोकस्थित ठाकुरबारीमा वृहत् स्वेच्छिक रक्तदान शिविरको आयोजना गरिने भएको छ। ब्रह्माकुमारीजले लायन्स क्लब अफ ग्याङटोक ग्रिन्स र ‘एक हात एक साथ’ सँगको सहकार्यमा बिहान ९:०० बजेदेखि सो कार्यक्रम सञ्चालन गर्न लागेको हो।
उक्त शिविरमा एसटीएनएम अस्पताल, मनिपाल अस्पतालका साथै नाम्ची र सिङ्ताम जिल्ला अस्पतालका चिकित्सकहरूको प्राविधिक सहयोग रहनेछ। कार्यक्रममा सर्वसाधारणका लागि जनचेतना अभिवृद्धि, रक्तदानका लागि योग्यता सम्बन्धी जानकारी, नि:शुल्क रक्त परीक्षण तथा स्वेच्छिक रक्तदानको सुविधा उपलब्ध गराइनेछ।
रगतको अभावका कारण कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ आयोजित यस शिविरमा योग्य तथा इच्छुक व्यक्तिहरूलाई स्वतःस्फूर्त रूपमा सहभागी भई रक्तदान गर्न आयोजक समितिले आग्रह गरेको छ।











