जैविक प्रविधि र पशुपालनमा ऐतिहासिक सफलता
गुवाहाटी: असमले बायो-टेक्नोलोजी र पशुपालनको क्षेत्रमा एक ठूलो सफलता हासिल गर्दै ऐतिहासिक फड्को मारेको छ। असमको स्थानीय नस्ल ‘लखिमी’ जातको गाईबाट विश्वकै पहिलो आईभिएफ पोथी बाछोको जन्म असम भेटेरिनरी एन्ड फिसरी युनिभर्सिटीमा भएको छ। राज्यका मुख्यमन्त्री हिमन्त विश्व सरमाले यो खुसीको खबर सार्वजनिक गर्दै यस सफलतामा संलग्न सम्पूर्ण पशु-चिकित्सा वैज्ञानिक तथा विशेषज्ञहरूको टोलीलाई हार्दिक बधाई दिएका छन्। मुख्यमन्त्रीले यस उपलब्धिलाई सभ्यता, संस्कृति र आधुनिक विज्ञानको सुन्दर सङ्गमका रूपमा वर्णन गर्दै यसले राज्यको डेयरी क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने विश्वास व्यक्त गरेका छन्।
यो प्रविधिले असमको रैथाने नस्लको संरक्षण, रोग नियन्त्रण, दूध उत्पादनमा वृद्धि र अन्ततः किसानहरूको आम्दानी बढाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। लखिमी गाई असमको प्रसिद्ध स्थानीय नस्ल हो, जसको दूध निकै बाक्लो, पोषिलो र बोसोयुक्त हुने भएकाले बजारमा राम्रो मूल्य पाइन्छ। साना कदको यो गाई मुख्यतया फुस्रो वा खरानी रङको हुन्छ र यसका सिङ सीधा हुन्छन्। स्थानीय वातावरणमा सजिलै भिज्न सक्ने यो नस्ल कम हेरचाह र परम्परागत घाँस-पातमा पनि स्वस्थ रहन्छ। साथै, यस जातका गोरुहरू साना तर निकै बलिया हुने भएकाले असमका हिलाम्मे धानखेत जोत्न र गाडा तान्नका लागि निकै उपयोगी मानिन्छन्।









