गान्ताेक: सिक्किमका नवनियुक्त माननीय राज्यपाल श्री दुष्यन्त गौतमसँग आज लोकभवनमा गङ्कटोक जिल्लाका जिल्लापाल (डीसी) श्री रोहन अगवाने र वरिष्ठ पुलिस अधीक्षक (एसएसपी) डा. छिरिङ नामग्याल ग्यात्सोले शिष्टाचार भेटघाट गरेका छन्।
बैठकका क्रममा माननीय राज्यपालले दुवै अधिकारीहरूबाट उनीहरूका सम्बन्धित विभागहरूको कार्यशैली तथा कार्यप्रगतिका विषयमा जानकारी लिए। भेटघाटको अवसरमा जिल्लापाल श्री रोहन अगवानेले राज्यपाल महोदयलाई गङ्कटोक जिल्लाका प्रशासनिक कार्यहरू, सार्वजनिक सेवा प्रवाह र विभिन्न विकास निर्माणका गतिविधिहरूबारे विस्तृत रूपमा अवगत गराए।
गङ्कटोक क्षेत्र भौगोलिक रूपमा संवेदनशील भएकाले माननीय राज्यपालले मनसुनका समयमा आइपर्ने प्राकृतिक चुनौतीहरू र जिल्लाको विपद् व्यवस्थापन पूर्वतयारीबारे पनि जिल्लापालसँग सोधपुछ तथा छलफल गरे।
अर्कोतर्फ, वरिष्ठ पुलिस अधीक्षक डा. छिरिङ नामग्याल ग्यात्सोले माननीय राज्यपाललाई जिल्लाको समग्र कानून-व्यवस्था, सुरक्षा स्थिति र अपराध नियन्त्रणका उपायहरूबारे जानकारी गराए। सो अवसरमा माननीय राज्यपालले समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न जिल्ला प्रशासन तथा पुलिस बलले पुर्याएको योगदानको सराहना गरे।





