गाड़ीको धक्का दिँदा एक व्यक्तिको घटनास्थलमै मृत्यु

गान्तोक: देवरालीस्थित टाटा स्ट्याण्ड छेउमा एउटा गाडीले धक्का दिँदा एकजना व्यक्तिको मृत्यु भएको छ। लाल बहादुर छेत्री नाम रहेको सो व्यक्ति ३७ वर्षको रहेको बताइएको छ। उनी पाकिम जिल्लाको लिङ्के निवासी थिए। पुलिस सूत्र अनुसार, एकजना वाहन चालक देवराली आउट पोस्टमा आएर उनको गाड़ीले टाटा स्ट्याण्ड छेउ ‌बाटोमा हिडिरहेका एक व्यक्तिलाई हिर्काएको सूचना दिए। उनी जिल्ला न्यायालय क्षेत्रबाट देवराली छोर्तेनतिर गइरहेका थिए। चालकले दिएको सूचनापछि पुलिस दल घटना स्थलमा पुगे र सो व्यक्तिलाई आरोपित चालककै सहयोगमा एसटीएनएम अस्पताल लगियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरिदिए।
पुलिसले मृत व्यक्तिको शव पोस्टमार्टमपछि परिवारलाई सुम्पेको छ। यस घटनाको सम्बन्धमा पुलिसले मामिला दर्ता गरेर जाँच शुरू गरेको छ।

About Author

Advertisement