गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले नारी सशक्तिकरण र नारी सम्मानमा ठूलो घोषणा गरेको सत्तारूढ़ एसकेएम पार्टीले बताएको छ। लामो समय अघिदेखि एड्हक, एमआर, कन्ट्याक्चुअल र प्रोबेशनरी मआधारमा कार्यरत महिला कर्मचारीहरूले एक वर्षको मातृत्व र उनीहरूका श्रीमानले एक महिनासम्म पितृत्व विदा पाउनुपर्छ भन्ने दीर्घलम्बित मागलाई एसकेएम सरकारले पूरा गरिदिएको छ।एसकेएमको प्रचार प्रसार सचिव रञ्जना प्रधानद्वारा जारी प्रेस विज्ञप्ति अनुसार मुख्यमन्त्री प्रेमसिंह तामाङको परिकल्पनामा एसकेएम पार्टीको सरकारले नयाँ साल २०२३ को शुभारम्भ सँगै यसलाई कार्यान्वयन गरी प्रत्येक महिला कर्मचारीहरूलाई सम्मान र न्याय दिने काम गरेको छ।उल्लेखनीय छ, गत वर्ष २०२२ मा मुख्यमन्त्रीद्वारा नियमित महिला कर्मचारीहरुको मातृत्व विदा ६ महिनाबाट विस्तारित गरेर एक वर्ष बनाइएको थियो भने यस वर्षदेखि अन्य सबै अस्थायी महिला कर्मचारीले एक वर्षको मातृत्व र पुरुषहरूले एक महिनाको पितृत्व विदा पाउने भएका छन्। यो खबरले राज्यका सम्पूर्ण अस्थायी महिला र पुरुष कर्मचारीहरूमा अत्याधिक हर्षको लहर छाएको छ। सचिव प्रधानले भनेकी छन्, पछिल्लो सरकारको कार्यकालमा भखरै जन्मिएको शिशुलाई घरमा छाडेर कर्मचारीहरू आफ्नो सरकारी कार्य निर्वहन गर्न पुग्नु पर्ने अवस्था थियो भने पिताहरू पनि पूर्ण रूपले आफ्नो परिवारलाई समय समर्पित गर्न असमर्थ थिए। यसरी, शिशुको स्याहारमा आमा-बुवा दुवैको आवश्यकतालाई मध्यनजर गर्दै सरकारले एक वर्षसम्मको मातृत्व र एक महिनाको पितृत्व विदा घोषणा गरेको छ। यस अतिरिक्त सिक्किमका बेरोजगार आमाहरूको आर्थिक स्थितिलाई केन्द्र गर्दै मुख्यमन्त्रीको परिकल्पनामा आमा योजना शुरु गरी आफ्नो ब्याङ्क खातामा वार्षिक २० हजार रूपया जम्मा गरिदिएर गरीबी रेखा मुनिका आमाहरूको आर्थिक स्थिति मजबुत बनाउने पनि सरकारले पहल शुरु गरिसकेको छ। यसका साथै सन्तान नभएका दम्पतीहरूको निम्ति पनि वात्सल्य योजना शुरु गरी उनीहरूलाई ३ लाख रूपियाँको आर्थिक धनराशि प्रदान गरिने र नपुगेको खण्डमा थप राशि प्रदान गरिने योजना बनाएर सरकारले सहयोग र न्याय प्रदान गर्ने कार्य गरिसकेको छ।











