गान्तोक: मकर संक्रान्ति एवं उत्तरायणको हार्दिक बधाई एवं शुभकामना सिक्किमका राज्यपाल गंगा प्रसादले देश तथा राज्यवासीहरूलाई व्यक्त गरेका छन्। राज्यपालले आफ्नो सन्देशमा भनेका छन्, ‘मकर संक्रान्तिको पर्व शिशिर ऋतुको समाप्ति र वसंत ऋतुको आगमनको प्रतीक हो। मान्यता अनुसार यो पर्वलाई भगवान सूर्यको उपासना र दान पुण्यको पवित्रम पर्व मानिन्छ। यस दिन सूर्यको तापमा परिवर्तन शुरू हुन्छ र सूर्य दक्षिणदेखि उत्तर दिशातिर अभिमुख हुन्छ। उत्तरायणपछि रात छोटो अनि दिन लामो हुन थाल्छ, जसपछि अन्धकार घट्न थाल्छ र प्रकाशको बढ़ोत्तरी आरम्भ हुन्छ।’
राज्यपालले यो हर्षमय अवसरमा जसरी प्रकृतिले शिशिर ऋतुपछि वसंतको प्रतीक्षा गरिरहेको हुन्छ, हामी पनि अदम्य उत्साह र उमंगका साथ ज्ञानरूपी प्रकाशतिर अग्रसर बन्ने संकल्प लिउँ भनी आह्वान गरेका छन्। राज्यपालले सबैको जीवनमा यो पर्वले सुख, समृद्धि र उत्तम स्वास्थ्य लिएर आउन् भनी शुभकामना पनि व्यक्त गरेका छन्।











