भद्रपुर: खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटार बाङमामा सिँचाई पोखरीमा डुबेर दाजुबहिनीको मृत्यु भएको छ।
सोमबार दिउँसो घरदेखि करीव १ किलोमिटर पर भुतिया खोला नजिकको पोखरीमा गइन्द्र राईका अन्दाजी ६ वर्षीय छोरा संगम राई र अन्दाजी ३ वर्षीया छोरी संवृद्धि राईको डुबेर मृत्यु भएको हो।
दिउँसो २ बजे आमा बारीमा मकै भाँच्न गएको बेला हराएका छोराछोरी खोज्दै जाँदा अपरान्ह ५ः४५ बजे पोखरीमा डुबिरहेको अवस्थामा आमाले फेला पारेका थिए। आमाले फेला पार्दा दुबैजनाले सामान्य हातखुट्टा चलाउँदै गरेको अवस्थामा रहेकोमा बोकी घरमा ल्याई राख्नसाथ दुबैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी च्यास्मिटारबाट खटेको प्रहरीले घट्नास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी डिएसपी पुरुषोत्तम खड्काको कमाण्डमा प्रहरी घट्नास्थलतर्फ लागेको छ। स्थानीय एवंम् नेकपा एकीकृत मालेका नेता रस कुमार राईका अनुसार पोखरी बाहिर दाजुबहिनीको चप्पल र कपडा देखेपछि आमाले पोखरीभित्र खोेजेर बच्चालाई बाहिर निकालेका थिए।










