सोनादा: खस भारतीय हितकारी सम्मेलन, दार्जिलिङ आञ्चलिक समितिको तत्त्वावधानमा तथा घूम शाखा समितिको आयोजनामा घूममा युवा सम्मेलन तथा सम्वर्द्धना कार्यक्रम विविध सांस्कृतिक तथा कार्यक्रमका साथ सम्पन्न भयो। विभिन्न अञ्चल तथा शाखाहरुबाट सम्मेलनका पदाधिकारी, प्रतिनिधि, युवा वक्ता, कलाकार तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा युवा पुस्तालाई संस्थासँग अझ सक्रिय रूपमा जोड्दै सामाजिक, सांस्कृतिक र जातीय चेतनालाई सुदृढ बनाउने विषयमा विशेष जोड दिइएको थियो। कार्यक्रमको अध्यक्षता दार्जिलिङ आञ्चलिक समितिका सभापति रोशन कुमार ठकुरीले गरेका थिए भने खस भारतीय हितकारी सम्मेलन केन्द्रीय समितिका अध्यक्ष मदनकुमार मिश्रा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। केन्द्रीय समितिका महासचिव बलभद्र शर्मा फुँयेल, उपाध्यक्ष ध्रुव खत्री, डी. पी. दाहाल, प्रा. कुमार छेत्री विशिष्ट अतिथिका रूपमा सहभागी थिए भने
केन्द्रीय समितिका सदस्य प्रह्लाद छेत्री, कृष्ण छेत्री, उपेन्द्र छेत्री, ए.पी थापा, अर्जुन छेत्री, शिवप्रसाद मैनाली, श्याम प्रसाईँ, भुवन नेपाल, प्रशासनिक सचिव मेघनाथ छेत्री, अनिरुद्ध रावत, प्रा कुमार छेत्री लगायत बिजनबारी आञ्चलिक समितिका मूल सचिव लोकनाथ शर्मा, दार्जिलिङका मूल सचिव राजु छेत्री, कालेबुङका मूल सचिव नीतु छेत्री, च्याङ्गा-पानीघट्टा, आञ्चलिक समितिका सभापति रवीन बास्तोला, मूल सचिव भुवानीप्रसाद दुलाल, कोषाध्यक्ष नवीनचन्द्र पराजुली, सोनादा आञ्चलिक समितिका मूल सचिव उद्धप खनाल, बाग्राकोट अञ्चलका सभापति एस.के.खड्का, मूलसचिव गगन शर्मा आदि केन्द्रीय, आञ्चलिक तथा विभिन्न शाखाका पदाधिकारी र प्रतिनिधिहरूको पनि विशेष उपस्थिति रहेको थियो।
दार्जिलिङ अञ्चलअन्तर्गतका विभिन्न शाखाहरूबाट अनि बाग्राकोट, बिजनबारी, दार्जिलिङ, मङ्पु, कालेबुङ, च्याङ्गा-पानीघट्टा, मिरिक, बाग्राकोट, सुखियापोखरी, सोनादा र तकदाह आञ्चलिक समितिका प्रतिनिधि तथा युवाहरू सहभागी भएका थिए। युवा सम्मेलनको मूल उद्देश्य नयाँ पुस्तालाई संस्थाको इतिहास, उद्देश्य, सामाजिक दायित्व र जातीय-सांस्कृतिक सरोकारबारे सचेत गराउँदै उनीहरूको नेतृत्व क्षमता तथा वैचारिक अभिव्यक्तिलाई प्रोत्साहित गर्नु रहेको थियो।सी. बी. छेत्री र प्रह्लाद छेत्रीद्वारा उदघोषित एवम् घूम शाखाका सभापति सागर छेत्रीद्वारा सञ्चालित कार्यक्रमको आरम्भ अध्यक्ष, प्रमुख अतिथि तथा पदाधिकारीहरूलाई आसन ग्रहण र माल्यार्पण गराएर गरिएको थियो। त्यसपछि दीप प्रज्ज्वलन, दिवङ्गत सदस्यहरूप्रति शोक समवेदना तथा मौन धारण, स्वागत सम्भाषण र गणेश वन्दनासहित औपचारिक कार्यक्रमको साथ अघि बढाइएको थियो। सुष्मिता छेत्रीले गणेश वन्दना प्रस्तुत गरिन् भने चेतनप्रसाद शर्माले कविता वाचन गरेका थिए।
युवा सम्मेलनको प्रमुख आकर्षण विभिन्न शाखाबाट आएका युवा वक्ताहरूको वैचारिक प्रस्तुति रहेको थियो। कार्यक्रममा दार्जिलिङ , बिजनबारी, बाग्राकोट, कालेबुङ, मङ्पु लगायत विभिन्न शाखाका युवा वक्ताहरूले आफ्ना विचार प्रस्तुत गरेका थिए। वक्ताहरूले युवाको भूमिका, संस्थागत एकता, सामाजिक उत्तरदायित्व, खस भाषा-संस्कृति, जातीय चेतना, शिक्षा र नयाँ पुस्ताको नेतृत्व विकासजस्ता विषयलाई केन्द्रमा राखेर मन्तव्य प्रस्तुत गरे।
वैचारिक प्रस्तुतिसँगै सांस्कृतिक कार्यक्रमले समारोहलाई थप आकर्षक बनाएको थियो। रोमिना कार्कीलगायत कलाकारले एकल नृत्य प्रस्तुत गरे भने मानस मण्डलीले खैँजडी भजन प्रस्तुत गरेको थियो। अन्य कलाकार तथा समूहले पनि एकल तथा सामूहिक नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई मनोरञ्जनात्मक र सांस्कृतिक स्वरूप प्रदान गरेका थिए। पार्वती छेत्रीलगायत कलाकारहरूको सामूहिक नृत्य पनि कार्यक्रमको आकर्षण बनेको थियो।
युवा सम्मेलनमा वक्ताहरूले वर्तमान समयमा समुदायको सर्वाङ्गीण विकासका लागि युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गरे। परम्परा र संस्कृतिको संरक्षणसँगै शिक्षा, सामाजिक सेवा, संगठन निर्माण र नेतृत्व विकासमा युवाहरूलाई अग्रसर गराउनुपर्नेमा उनीहरूले जोड दिए। पुरानो पुस्ताले निर्माण गरेको संस्थागत आधारलाई नयाँ पुस्ताले समयसापेक्ष ढङ्गमा अगाडि बढाउन सके मात्र संगठन थप सशक्त बन्ने विचार पनि व्यक्त गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि एवं केन्द्रीय समितिका महासचिव श्री बलभद्र शर्माले खस भारतीय हितकारी सम्मेलनको संस्थागत उद्देश्य, सामाजिक भूमिका तथा नयाँ पुस्ताको जिम्मेवारीबारे प्रकाश पारे। प्रमुख अतिथि एवं केन्द्रीय समितिका अध्यक्ष श्री मदन कुमार मिश्राले युवाहरू संस्थाको भविष्यका संवाहक भएकाले उनीहरूलाई संगठनभित्र पर्याप्त अवसर, जिम्मेवारी र मार्गदर्शन प्रदान गर्नुपर्ने बताए। उनले समाजको शैक्षिक, सामाजिक, सांस्कृतिक र नैतिक विकासका निम्ति युवा शक्ति संगठित भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए। कार्यक्रममा विभिन्न शाखाबाट आएका पदाधिकारी, वरिष्ठ सदस्य तथा युवाहरूबीच परिचय, संवाद र विचार आदान प्रदानको अवसरसमेत सिर्जना भएको थियो। आयोजकहरूले यस्तो सम्मेलनले विभिन्न शाखाबीचको आपसी सम्पर्क र समन्वयलाई मजबुत बनाउनुका साथै नयाँ पुस्तामा संगठनप्रति जिम्मेवारीको भावना विकास हुने विश्वास व्यक्त गरे। समारोहमा दार्जिलिङ, बाग्राकोट, बिजनबारी, मङ्पु, कालेबुङ, च्याङ्गा-पानीघट्टा, मिरिक, सुखियापोखरी, सोनादा, र तकदाह लगायतका प्रतिनिधि, पदाधिकारी, युवा वक्ता, कलाकार तथा सदस्यहरूको सहभागिताले कार्यक्रमलाई अञ्चल स्तरीय साझा मञ्चको स्वरूप प्रदान गरेको थियो। कार्यक्रमको अन्त्यतिर सम्बन्धित समितिका पदाधिकारीहरूको सम्बोधनपछि सभापति रोशन कुमार ठकुरीले युवा सम्मेलन तथा सम्बर्द्धना कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने केन्द्रीय समिति, अञ्चलिक समिति, विभिन्न शाखा समिति, युवा वक्ता, कलाकार, अतिथि तथा सम्पूर्ण सहभागीहरूप्रति आभार व्यक्त गरे। धन्यवाद ज्ञापनसँगै कार्यक्रम औपचारिक रूपमा समापन गरिएको थियो। समग्रमा, खस भारतीय हितकारी सम्मेलनको यस युवा सम्मेलनले युवा नेतृत्व विकास, संगठनात्मक एकता, सामाजिक उत्तरदायित्व, भाषा-संस्कृतिको संरक्षणलाई केन्द्रमा राख्दै नयाँ पुस्तालाई संस्थागत गतिविधिमा सक्रिय बनाउने सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन् भनी खस भारतीय हितकारी सम्मेलन केन्द्रीय समितिको प्रचार- प्रसार सचिव मेघनाथ छेत्रीले जानकारी गराएका छन्।





