सभापति र सचिवद्वारा राजीनामा
खरसाङ: खरसाङ व्यवसाय संगठनको साधारण सभा खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा सम्पन्न भएको छ। उक्त सभा खरसाङ व्यवसायिक संगठनको सभापति फिरोज अख्तरको अध्यक्षता र कार्यकारी सदस्य हिरण त्रिखत्रीको सञ्चालनमा सम्पन्न भएको छ। सभामा खरसाङ व्यवसायिक संगठनको पदाधिकारीहरु र सदस्यहरु उपस्थित रहेका थिए। सभामा सभापति फिरोज अख्तरले वक्तव्य राखेका थिए। त्यसरी नै खरसाङ व्यवसायिक संगठनको सचिव राजेन्द्रप्रसाद अग्रवालले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै २०१२ देखि २०२६ सम्मको विभिन्न कार्यहरु र उपलब्धिहरु विषयमा जानकारी गराएका थिए। उनले संगठनको अहिलेसम्मको कार्यहरु र उपलब्धिहरु विषयमा विस्तृत विवरण प्रस्तुत गरेका थिए। सभामा संगठनको आय व्ययको हर हिसाबको विवरण कोषाध्यक्ष अरुण मोहन घोषले तयार पारेको रिपोर्ट अस्वस्थ्यको कारण सचिवले नै पऔन गरेर सुनाएका थिए। सभामा खरसाङ व्यवसायिक संगठनको मुख्य सल्लाहकार एवं वरिष्ठ अधिवक्ता रमेश अग्रवालले आफ्नो सम्बोधनमा आफ्नो अनुभवहरु र कानुनी रुपमा सर सल्लाह प्रस्तुत गर्दै खरसाङमा सबै व्यवसायीहरु टुटेर होइन जुटेर काम गर्नु पर्ने आह्वान् गरेका छन्। उनले मतभेद भएपनि मिलेर काम गर्ने सुझाव दिएका छन्। वरिष्ठ अधिवक्ता रमेश अग्रवालले आफ्नो सम्बोधनमा भने, ‘हालमा खरसाङ व्यापारमा डेथ टाउन भएको छ। सबै अनलाइनले बिगारेको छ।’
उनले अघि भने,’ हाम्रो मतभेद हुन्छ, आलोचना हुन्छ तर त्यो स्वास्थ्य आलोचना हुन आवश्यक छ। स्वास्थ्य आलोचनाले संगठनलाई अघि बढ्न सहयोग गर्छ। हामीले पारदर्शिताको साथमा काम गरेर लानुपर्छ। समयमा नै सभा बोलाउनुपर्छ। सदस्यहरुसित जोडिएर मिलेर काम गर्दै अघि बढ्नुपर्छ।’

सभामा खरसाङ व्यवसायिक संगठनको उप सभापति राजु सेवा,कार्यकारी सदस्य जोगेन्द्र प्रसाद, दिपराज रसाइली, श्यामसुन्दर गुप्ता आदिले वक्तव्य राखेका थिए। सभामा धन्यवाद ज्ञापन प्रकाश प्रसादले राखेका थिए। सभाको अन्त्यमा खरसाङ व्यवसायिक संगठनको सचिव राजेन्द्रप्रसाद अग्रवाल र सभापति फिरोज अख्तरले राजीनामा दिएका छन्। यसको साथै खरसाङ व्यवसायिक संगठनको कार्यकारी समितिमा पनि कोही नरहेको बताइएको छ। त्यसपछि खरसाङ व्यवसायिक संगठनको भावी योजना विषयमा पत्रकारहरुसित कुराकानी गर्दै मुख्य सल्लाहकार वरिष्ठ अधिवक्ता रमेश अग्रवालले सभापति र सचिवले राजीनामा दिएपछि सभामा एकजना संयोजक चयन गरेर एकजना निष्पक्ष र स्वतन्त्र व्यक्तिलाई चुनाव पर्यवेक्षकको रुपमा राखिनु पर्ने सुझाव दिएका छन्। उनले पत्रकारहरुले सोधेका प्रश्नको उत्तर दिन्दै भने, ‘सभापछि एकजना संयोजक चयन गरेर चुनाव प्रक्रिया आरम्भ गर्नु पर्ने थियो। सभापति सचिवले राजीनामा दिएपछि संयोजक चयन गरेर सभा डाक्नु पर्ने थियो। म खरसाङ व्यवसायिक संगठनको मुख्य कानुनी सल्लाहकार भएको नाताले एकजना संयोजक चयन गरेर चुनाव प्रक्रिया आरम्भ गर्नु पर्ने र झट्टै एकजना संयोजक चयन गरेर सभा डाक्नु पर्ने सुझाव दिन चाहान्छु।’ उनले अघि भने, एकजना स्वतन्त्र व्यक्तिलाई संयोजक चयन गरेर सभा बोलाएर नयाँ कमिटी गठन गर्नुपर्छ।’









