मृत्युदर २५ प्रतिशत पुग्यो, ३० वर्षमाथिकालाई खोप दिइने
काठमाडौँ(नेत्र बिक्रम बिमली): नेपालभर जापानी इन्सेफलाइटिस (जेई) को संक्रमण र यसबाट हुने मृत्युदर तीव्र रूपमा बढेपछि सरकारले आपत्कालीन खोप अभियान सञ्चालन गर्ने तयारी थालेको छ। पछिल्लो समय बालबालिका मात्र नभई वयस्क नागरिकहरूसमेत यसको चपेटामा पर्न थालेपछि पहिलो चरणमा ३० वर्षभन्दा माथिका नागरिकलाई खोप दिने निर्णय गरिएको हो। देशभर हाल करिब १ करोड २५ लाख मानिस जापानी इन्सेफलाइटिसको उच्च जोखिममा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्थिति नियन्त्रण बाहिर जान नदिन नेपाल सरकारले हाल बालबालिकाका लागि मौज्दात राखिएको खोप तत्काल प्रयोग गरी पछि शोधभर्ना गर्ने रणनीति बनाएको छ।
पछिल्लो ६ सातामा मात्रै नेपालभर ५९ जनामा संक्रमण पुष्टि भएको छ भने २१ जनाको मृत्यु भइसकेको छ। प्रादेशिक तथ्याङ्क अनुसार कोशी प्रदेशमा २४ संक्रमित र १० जनाको मृत्यु भएको छ भने मधेश प्रदेशमा १९ संक्रमित र ६ जनाको मृत्यु भएको छ। त्यसैगरी सुदूरपश्चिममा १३ संक्रमित र २ मृत्यु, बागमतीमा १० संक्रमित र १ मृत्यु तथा लुम्बिनी प्रदेशमा ७ संक्रमित र २ जनाको मृत्यु भइसकेको छ। गण्डकी र कर्णाली प्रदेशमा पनि संक्रमण फैलिँदो क्रममा छ। समग्रमा देशभर जेईबाट हुने मृत्युदर करिब २५ प्रतिशत पुगेको छ।
स्वास्थ्य सेवा विभागको अनुसन्धान अनुसार नेपालमा संक्रमितमध्ये ८९ प्रतिशतले खोप नलगाएको पाइएको छ भने मृत्यु हुनेमा ८१ प्रतिशत ५० वर्षभन्दा माथिका नागरिक रहेका छन्। नेपालमा सन् २००६ देखि बालबालिकाका लागि नियमित खोप कार्यक्रममा जेई समावेश गरिए पनि वयस्कहरूका लागि भने यसको व्यवस्था थिएन।
यसै जोखिमलाई ध्यानमा राखेर नेपाल सरकारले देशका अति प्रभावित नौ जिल्लाका लागि ३५ लाख मात्रा खोप खरिद गर्ने प्रक्रिया तीव्र रूपमा अघि बढाएको छ। आगामी तीन साताभित्रै प्रभावित क्षेत्रहरूमा खोप अभियान सञ्चालन गर्ने गरी स्वास्थ्य सेवा विभागले तयारी गरिरहेको छ।









