नगर प्रशासकसित प्रतिनिधिहरुको बैठक सम्पन्न
खरसाङ: खरसाङ नगरपालिकाको सञ्चालनको लागि खरसाङ महकुमा शासकलाई सहयोग गर्न भारतीय जनता पार्टीको तर्फबाट तीनजना प्रतिनिधिहरु क्रमैले बिनय प्रसाद, रामकृष्ण शर्मा र निशान सुनारलाई प्रतिनिधिको रुपमा नियुक्त गरिएको जानकारी प्राप्त भएको छ। भारतीय जनता पार्टी खरसाङका प्रतिनिधिहरुसित खरसाङ नगरपालिका प्रशासकको सभा सम्पन्न भएको छ। यसै विषयमा शुक्रवार खरसाङमा एक पत्रकार सम्मेलन बोलाएर खरसाङ नगरपालिका सञ्चालनको लागि भएको सभा विषयमा जानकारी गराएका छन्। पत्रकारहरुलाई सम्बोधन गर्दै भाजपाको तर्फबाट रामकृष्ण शर्माले खरसाङ नगरपालिकामा महकुमा शासक एंव नगर प्रशासकलाई सहयोग गर्न सांसद राजु विष्ट, विधायक सोनाम लामा र भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाको निर्देशनमा तीनजना प्रतिनिधिहरु चयन गरिएको र तीनजना प्रतिनिधिहरुलाई लिएर गत 25 जून बिहीवारको दिन सभा सम्पन्न भएको जानकारी गराएका छन्। उक्त सभामा खरसाङलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने विषयमा चर्चा परिचर्चा गरिएको साथै खरसाङको सर सफाई, पिउने पानी, हाउजिङ फर अल विषयमा कुराकानी भएको जानकारी रामकृष्ण शर्माले दिएक छन्। उनले हाउजिङ फर अल अन्तर्गत २०१५ देखि २०२५ सम्म के कस्तो भयो र किन फण्ड डाईभट भयो अनि कसले गरेको थियो भन्ने विषयमा छानबीन भएर कार्यबाही हुनु पर्ने विषयमा पनि चर्चा चर्चा गरिएको जानकारी गराएका छन्। त्यसरी नै पहिलाको बोर्डले के कस्तो प्रकारले काम गरेको थियो र गैर कानुनी रुपमा बिल्डिङ निर्माण साथै सुपर मार्केट र क्लर्क टावरमा निर्माण गरिएको रुमहरु र यसको राजस्व विषयमा पनि छलफल भएको जानकारी शर्माले गराएका छन्। रामकृष्ण शर्माले भने, ‘हाउजिङ फर अल योजनाको लाभार्थीहरुले रकम पाउनु पर्छ भन्ने विषयमा चर्चा परिचर्चा गरिएको छ। यसको साथै वार्ड नम्बर १३ मा गैर कानुनी रुपमा निर्माण गरिएको बिल्डिङ विषयमा पनि चर्चा गरिएको छ।’ शर्माले अझ भने, खरसाङलाई कसरी अघि लाने भन्ने विषयमा चर्चा परिचर्चा गरिएको छ। हामी खरसाङ नगरपालिकासित सहकार्य गर्न दिएको कार्यलाई हामी पूर्ण रुपमा दायित्व लिन तयार छौं।’









