खरसाङ: पहिलो वैशाखको पावन अवसरमा गोर्खा सांस्कृतिक संस्थान् खरसाङको आयोजनामा खरसाङमा विराट सांस्कृतिक शोभायात्रा आयोजना गरिएको छ। उक्त सांस्कृतिक शोभायात्रा खरसाङको बस टर्मिनलदेखि शुरु भएर खरसाङ बजार हुँदै मोटर स्ट्याण्ड हुँदै खरसाङको नयाँ बजारस्थित डब्ल्युबीएनभीएफ खेल मैदानमा पुगेर सम्वर्ध्दना कार्यक्रममा परिणत भएको छ। उक्त सांस्कृतिक शोभायात्रामा खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु जातीय भेषभूषामा सजिएर उपस्थित रहेका थिए भने विभिन्न झाँकीहरु प्रस्तुति गरिएको थियो। यस अवसरमा जीटीए प्रमुख अनित थापा लगायत सभासदहरु, गोर्खा सांस्कृतिक संस्थान् खरसाङका पदाधिकारीहरु उपस्थित रहेका थिए। उक्त सांस्कृतिक शोभायात्रामा विभिन्न सांस्कृतिक बाजा गाजाहरुका साथमा सांस्कृतिक महत्वको साथमा आयोजना गरिएको थियो। गोर्खा जातिको विभिन्न जातगोष्ठी, विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु उक्त शोभायात्रामा उपस्थित रहेका थिए।

यसको साथै नौमति बाजा, मादलको धुन, लोक गीत संगीतको साथमा उक्त शोभायात्रा निकालिएको थियो। गोर्खा सांस्कृतिक संस्थान् खरसाङको आयोजनामा प्रत्येक वर्ष पहिलो वैशाखमा सांस्कृतिक शोभायात्रासहित सम्वर्ध्दना कार्यक्रम आयोजना गरिने गरिएको छ भने यसपाली पनि उक्त सांस्कृतिक शोभायात्रा तथा सम्वर्ध्दना कार्यक्रम सम्पन्न गरेको छ।









