मणि तामाङ बने च्याम्पियन
खरसाङ: खरसाङ महकुमा खेलकुद संघको आयोजनामा गत वर्षहरु झैँ यस वर्ष पनि स्वर्गीय धर्मे तामाङ, स्वर्गीय राजु तामाङ अनि स्वर्गीय शोभा तामाङ थापा स्मृति क्यारम प्रतियोगिता सम्पन्न भएको छ। उक्त क्यारम प्रतियोगिता खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा आईतवार सम्पन्न भएको छ। यसपालीको यस क्यारम प्रतियोगितामा स्थानको अनुमतिको कारण यस वर्ष केवल एकल वर्गमा मात्र उक्त प्रतियोगिता खेलाईएको थियो अनि त्यसमा पनि सिमित प्रतियोगीहरुलाई मात्र प्रवेश दिएको जानकारी प्राप्त छ। स्वर्गीय धर्मे तामाङ, स्वर्गीय राजु तामाङ अनि स्वर्गीय शोभा तामाङ थापा स्मृति क्यारम प्रतियोगितामा यसपाली जम्मा २० जना प्रतियोगीहरुले भाग लिएका थिए। यस एक दिवसीय क्यारम प्रतियोगितामा मणि तामाङ विजेता बनेका छन् भने ललित सेवा उप विजेता बनेका छन्। यसको तेस्रो स्थानमा विश्वास सुब्बा र चौथो स्थानमा महेश थापा बनेका छन्। यस क्रममा विजेताहरुलाई पुरस्कार अन्तर्गत प्रथमलाई ट्रफीसहित चार हजार, दोस्रोलाई ट्रफीसहित दुई हजार अनि तेस्रो र चौथो हुनेलाई ट्रफीसहित एक हजार रुपियाँ पनि प्रदान गरिएको छ। यस क्यारम प्रतियोगितामा अतिथिको रुपमा अधिवक्ता रमेश अग्रवाल, पूर्व सभासद श्याम शेर्पा, काइँली तामाङ लगायत स्वर्गीय धर्मे तामाङ, स्वर्गीय राजु तामाङ अनि स्वर्गीय शोभा तामाङ थापाका परिवारका सदस्य सदस्याहरु पनि उपस्थित रहेका थिए। यस एक दिवसीय क्यारम प्रतियोगिता विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा खेलकूद संघको सचिव गुरुङले क्यारम प्रतियोगिताको प्रायोजक साथै सहभागीहरु सबैलाई धन्यवाद दिएका छन्। यसको साथै सचिव निर्मल गुरुङले क्यारम प्रतियोगिताको समापनको लगत्तैपछि अर्को इन्डोर खेल ११ औं जिल्ला स्तरीय टेबल टेनिस प्रतियोगिता आगामी १९ जुलाईमा हुने पनि जानकारी दिएका छन्।









