विद्यालयको जीर्णोद्धार गर्न सहयोग पुऱ्याउने विधायक सोनाम लामाको आश्वासन
खरसाङ: खरसाङको एक प्रतिष्ठित शैक्षिक संस्थान रामकृष्ण कन्या उच्चतर माध्यमिक विद्यालयमा बुधवार वार्षिक उत्सव सम्पन्न भयो। यस उत्सवको उद्घाटन खरसाङका विधायक सोनाम लामाले रिबीन काटेर गरे। त्यसपछि उनले विद्यार्थी अनि शिक्षक-शिक्षिकाहरूद्वारा राखिएका विभिन्न स्टलहरूको भ्रमण गरे अनि त्यहाँ राखिएका मनोरञ्जनात्मक खेलहरूको पनि मज्जा लिए। यसै अवधि विद्यालय पक्षको आग्रहमा विधायक लामाले निर्माणाधीन तर थाँतीमा रहेको विद्यालय भवनको पनि निरीक्षण गरे अनि विद्यालयको स्थितिको बारेमा जानकारी लिए। कतिपय कारणवश विद्यालय भवनको निर्माण कार्य हाल थाँतीमा रहेको विद्यालय पक्षबाट जानकारी गराउँदै पुरानो स्कूल भवन विस्तारै दयनीय बन्दै गइरहेको र हाल विद्यार्थीहरूलाई एउटा कक्षालाई दुइवटा कक्षा बनाएर पढाउन बाध्य बनिरहेको जनाएका छन्। यसको समाधानको निम्ति शीघ्र उचित पहल गरिदिने आग्रह गरियो। आफ्नो उपस्थिति अनि भ्रमणबारे जानकारी गराउँदै विधायक लामाले रामकृष्ण स्कूल पहाडवासीको निम्ति एउटा धरोहर हो भन्दै आफू अनि आफ्नी धर्मपत्नी पनि यही स्कूल पढेको र यस विद्यालयले कैयौँलाई एक सफल अनि सक्षम व्यक्ति बनाएको जनाए। उनले विद्यालय भवनको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भवनको थाँतीमा रहेको निर्माण कार्य पूर्ण गर्न तथा यसको जीर्णोद्धार गर्न आफ्नो पक्षबाट पूर्ण रूपले सहयोग पुऱ्याउने वचन दिए। उनले विद्यालयहरूको संरक्षण र सम्वर्द्धन गर्न सबै अघि आउनुपर्छ भनी आह्वान गरेका छन्। उनले आज विद्यालयको वार्षिक उत्सवमा आफूलाई यसरी मुख्य अतिथिको रूपमा निम्ताएकोमा औ विद्यालयबारे थप जानकारी लिने अवसर पाएकोमा विद्यालय पक्षप्रति आभार व्यक्त गरे अनि विद्यालयको उत्तरोत्तर प्रगतिको कामना पनि गरे। यता विद्यालयकी प्रधान अध्यापिका चन्द्रकला यल्मोले आज विद्यार्थीहरुको मनोरञ्जनको निम्ति उनीहरूलाई उत्साह प्रदान गर्न यसरी वार्षिक उत्सव पालन गरिएको जनाउँदै यद्यपि यस अवसरमा खरसाङका विधायक सोनाम लामाले आफ्नो गरिमामय उपस्थिति दिएर स्कुललाई कृतार्थ तुल्याएको जनाइन्। यल्मोले यसै अवसरमा विधायक लामालाई वर्तमान स्कूल भवनको दयनीय अवस्था र विद्यार्थी अनि शिक्षक-शिक्षिकाहरूले भोग्न परिरहेको समस्याहरूको विषयमा पनि अवगत गराएको जनाउँदै विधायक लामाले पनि आफ्नो पक्षबाट स्कुललाई पूर्ण सहयोग प्रदान गर्ने वचन दिएको बताइन्।

उनले विधायकबाट स्कूलको विकास अनि यसको दयनीय अवस्थालाई सुधार गर्न पूर्ण सहयोग गर्नेछन् भन्ने कुरोमा आफूहरू विश्वस्त रहेको जनाउँदै यसरी आजको कार्यक्रमलाई आफ्नो उपस्थिति दिएर सफल बनाइदिएकोमा आभार प्रकट गरे औ कार्यक्रमलाई उत्कृष्ट ढङ्गमा सम्पन्न गर्ने विद्यालयका शिक्षण, अशिक्षण कर्मचारीहरू तथा विद्यार्थीवर्गलाई पनि धन्यवाद दिइन्।





