खरसाङ: खरसाङको डाउहिलस्थित पुरानो समाज डाउहिल सुनौलो परिवार समितिले सम्वर्ध्दना कार्यक्रम आयोजना गरेको छ। समितिका अध्यक्ष दावा लामाको अध्यक्षता अनि वरिष्ठ साहित्यकार एवम् नाटककार राजु प्रधान ‘हिमांशु’-को प्रमुख आतिथ्यमा निजी समाज भवनमा उक्त कार्यक्रम सम्पन्न भएको छ। पूर्वार्द्धमा सर्वप्रथम समितिको प्राङ्गनमा अध्यक्षद्वारा देशको तिरङ्गा झण्डा उत्तोलन गरियो अनि क्रमैले बन्देमातरम गीत अनि राष्ट्रिय गीत जनगण मन गीत सँगसँगै भारत माताकी जय र जय हिन्द-को नारा लगाइएको थियो। त्यसपछि आफ्नो समिति भवनमा उत्तरार्द्धको कार्यक्रम सम्पन्न भयो। सहसचिव विनोद रसाइलीद्वारा सञ्चालित यस कार्यक्रममा सर्वप्रथम समितिका अध्यक्ष, प्रमुख अतिथि, सचिव लगायत उपाध्यक्षद्वय सुष्मा मुखिया अनि लक्ष्मण लेप्चालाई खदार्पण गरी स्वागत जनाइयो अनि राष्ट्रपिता महात्मा गान्धीको प्रतिकृतिमा अतिथिहरूद्वारा धुपदीप प्रज्ज्वलन गरी कार्यक्रमको शुभारम्भ गरियो। त्यसपछि समितिका मूल सचिवले स्वागत सम्बोधन गरेपछि समितिका सदस्यहरूद्वारा सामुहिक स्वरमा देशभक्ति गीत प्रस्तुत गरियो। बाल कलाकारहरू ऋत्विका प्रधान र आयुषी राईको सुन्दर नृत्य प्रस्तुति र कलाकारहरू प्रेमछिरिङ लेप्चा, दावा लामा, श्याम दर्जी र दिलीप थापाद्वारा प्रस्तुत गरिएको देशभक्ति गीतहरूले डाउहिलको यस गाउँको वातावरण राष्ट्रभक्तिमा चुर्लुम्म डुबेको आभास हुन्थ्यो कार्यक्रमको अर्को विशेषता यसै गाउँका भूमिपुत्रद्वय वरिष्ठ साहित्यकार राजु प्रधान ‘हिमांशु’ अनि डीएफओ अजयकुमार प्रधानलाई उनीहरूका विशिष्ट उपलब्धिको निम्ति शीरशोभा अनि अभिनन्दन पत्र अर्पण गरेर सम्मान जनाइयो। स्मरण रहोस् वरिष्ठ साहित्यकार राजु प्रधान ‘हिमांशुले गत वर्ष साहित्यमा उल्लेखनीय योगदानको निम्ति गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनद्वारा गिरी पुरस्कार अनि अजयकुमार प्रधानले वन विभागमा डीएफओ पदमा पदोन्नति भएर गाउँमा कीर्तिमान रचेका थिए। प्रमुख अतिथिले आफ्नो सम्बोधनमा गाउँमा यसरी सम्मानित हुनु पाउनु जीवनको सबैभन्दा ठूलो खुशी अनुभव भएको कुरो जनाए। यसबाहेक उनले आफूले जीवनमा पाएको सबै सफलता र उपलब्धिहरूमा यस गाउँले दिएको योगदान र शिक्षाको सम्झना गर्दै समितिप्रति कृतज्ञता व्यक्तगरे। अजयकुमार प्रधानले पनि आफ्नो सन्देशमा समितिलाई धन्यवाद प्रकट गरे।यसको अतिरिक्त आशाकर्मी कविता लामा अनि मोहिन तामाङलाई समितिप्रति उनीहरूले दिएका विशेष योगदानको कदर गर्दै स्मृति प्रदान गरियो।अन्त्यमा अध्यक्ष दावा लामाले उपस्थित सबैमा स्वतन्त्रता दिवसको शुभकामना अनि बधाईसहित धन्यबाद टक्राएका थिए भनी सह सचिव विनोद रसाइलीले जानकारी गराएका छन्।










