राज्यका खेलकूद मन्त्रालयका राज्यमन्त्री डा. इन्द्रनील खानद्वारा गोरुबथान क्षेत्रको भ्रमण

IMG-20260818-WA0384

पहाडका युवाहरूका लागि खेलकूद क्षेत्रको विकासलाई राज्य सरकारले प्राथमिकतामा राखेको छ – डा इन्द्रनील खान

कालेबुङ: पश्चिम बंगाल सरकारका खेलकुद मन्त्रालयका राज्यमन्त्री डा. इन्द्रनील खानले मंगलवार गोरुबथान क्षेत्रको भ्रमण गर्दै स्थानीय मानिस, पार्टी कार्यकर्ता तथा जनप्रतिनिधिहरूसँग भेटघाट गरेका थिए। भ्रमणका क्रममा स्थानीयहरुको विभिन्न समस्याहरु र आवश्यकता साथै गोरुबथानसहित कालेबुङ र समग्र पहाडको विकास, पूर्वाधार र खेलकुद क्षेत्रको भावी प्राथमिकताबारे विस्तृत छलफल गरेका थिए।राज्यमन्त्रीलाई गोरुबथानका भाजपा कार्यकर्ताहरुले स्वागत जनाएका थिए।राज्यमन्त्री डा. खान अप्पर फागु मुन्सी लाइन प्राथमिक पाठशाला पनि पुगेका थिए जहाँ वन विभागद्वारा आयोजित ‘एक पेड़ माँ के नाम’ कार्यक्रम अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा राज्यमन्त्री डा. इन्द्रनील खान अनि कालेबुङका विधायक भरत छेत्रीले संयुक्त रूपमा वृक्षारोपण गर्दै पर्यावरण संरक्षणको सन्देश दिएका थिए। त्यसपछि राज्यमन्त्री डा. खान माल बस्तीस्थित बिएीएडीपी हल पुगेका थिए जहाँ पार्टी कार्यकर्ताहरूसँग भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा उनले गोरुबथान प्राकृतिक सौन्दर्यले भरिपूर्ण अत्यन्तै सुन्दर क्षेत्र रहेको उल्लेख गर्दै यहाँका जनता पनि सरल, सहयोगी र असल रहेको बताए।राज्यमन्त्री डा. खानले गोरुबथान तथा पहाडका युवाहरूका लागि खेलकुद क्षेत्रको विकासलाई राज्य सरकारले प्राथमिकतामा राखेको बताए। उनले खेलकुदसँग सम्बन्धित विभिन्न विषयमा कालेबुङका विधायक भरत छेत्रीसँग समेत छलफल भइसकेको जानकारी दिँदै गोरुबथानको स्टेडियम निर्माणको प्रक्रिया अगाडि बढिरहेको पनि बताए। युवाहरूलाई खेलकुदमार्फत अवसर र उचित मञ्च प्रदान गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए। उनले सरकार जनताका लागि र जनतासँगै काम गर्ने सरकार भएको उल्लेख गर्दै विकासका कार्यहरूलाई प्रभावकारी रूपमा अघि बढाउन स्थानीय जनताको सहयोग र सहकार्य आवश्यक रहेको बताए।

राज्यमन्त्री डा. इन्द्रनील खानको गोरुबथान भ्रमणलाई स्थानीय स्तरमा खेलकुद, युवा विकास, पूर्वाधार तथा जनसरोकारका विषयलाई राज्य सरकार समक्ष थप प्रभावकारी रूपमा उठाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। विशेषगरी गोरुबथान स्टेडियमको निर्माण प्रक्रिया अगाडि बढिरहेको विषयले स्थानीय खेलाडी तथा युवाहरूमा नयाँ आशा र उत्साह प्रदान गरेको छ।

About Author

Advertisement