खरसाङ: खरसाङको छोरो मुनेषचन्द्र तामाङलाई भारतीय सेनामा ब्रिगेडियरबाट मेजर जनरल पदमा पदोन्नति गरिएको छ। पदोन्नति सूची भर्खरै बाहिर आएको छ। उनी पहिलो पटक १९९५ मा शिलोङ आसाम रेजिमेन्टमा कमिसन्ड अफिसरको रूपमा सामेल भएका थिए। उनी खरसाङवासी पिता स्व नवीनचन्द्र ब्लोन र माता बिजया ब्लोनकी सुपुत्र हुन्। मुनिषचन्द्र तामाङ भारतीय सेनाको उच्च पद मेजर जनरल पदमा पुग्ने खरसाङका पहिलो व्यक्ति हुन् भने दार्जीलिङको दोस्रो मेजर जनरल हुन्। हिजो ३ जूनमा आफ्नो जन्मदिनको दिन भारतीय सेनामा ब्रिगेडियरबाट मेजर जनरल पदमा पदोन्नति गरिएको जानकारी प्राप्त भएको छ।
गोर्खा सांस्कृतिक संस्थान, खरसाङकी उपाध्यक्ष बिजया ब्लोन अनि स्व. नविनचन्द्र ब्लोनका सुपुत्र मुनेषचन्द्र तामाङ, वाईएसएम, वीएसएम-लाई हिजोको दिनमा भारतीय सेनामा मेजर जेनरलको गरिमामय पदमा पदोन्नति भएको सुखद् खबरले हामी गौरवान्वित भएका छौँ भनी गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा आशा मुखिया लामाले बताएकी छन्। उनले यस विषयमा भनिन् ‘यस्तो श्रेष्ठ पदमा खरसाङका भूमिपुत्र विराजमान हुनुले समस्त खरसाङवासी लगायत समग्र भारतीय गोर्खाहरूको निम्ति गर्वको विषय भएको छ। बिजया दिदी अनि सम्पूर्ण परिवार लगायत मेजर जेनरल महोदयलाई लाखौँलाख बधाई शुभकामना व्यक्त गर्दछौँ।’









