८ जूनः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा कालेबुङ जिल्ला पुलिसले फाइनलमा स्थान बनायो । स्थानीय मेला ग्राउण्डमा बिहीवार खेलिएको पहिलो सेमिफाइनल म्याचमा कालेबुङ पुलिसले हिमालश्री एथलेटिक क्लबलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल रोहन तामाङले ३१औं मिनटमा छिराए। हिमालश्री एथलेटिक क्लबका खेलाड़ीहरूले रहल समयमा सक्दो प्रयास गरे पनि म्याच बचाउन सकेनन्। हिमालश्री एथलेटिक क्लबका गोलकीपर सचिन सुब्बालाई प्लेयर अव् द म्याच चयन गरियो। आयोजकहरूले जानकारी दिएअनुसार, के-लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।

यसमा कालेबुङ जिल्ला पुलिस, सेसोनिअन्स एफसी, नादोङ भूटिया एफए, गोरुबथान एफसी, सुबोथ एफए (मंगपंग), शेयर एफसी, जर्जियन एफसी, युनाइटेड ब्रदर्स, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब सामेल छ। अब शुक्रवार खेलिने दोस्रो सेमिफाइनलमा युनाइटेड ब्रदर्स र जर्जियन फूटबल क्लबबीच भिड़न्त हुनेछ। लीगको फाइनल ११ जूनमा खेलिनेछ।









