श्रमिकहरुद्वारा खरसाङको सह श्रमायुक्त कार्यालय अघि धारणा प्रदर्शन
खरसाङ: खरसाङको लङभ्यू चियाबारीका मालिकले कोलकातामा भएको त्रिपक्षीय सम्झौता उल्लंघन गरेको भन्दै चियाबारीका श्रमिकहरू सडक आन्दोलनमा उत्रिएका छन्। बगान मालिकको रवैया विरूद्ध श्रमिकहरूले तुरुन्त सरकारी हस्तक्षेपको माग गरेका छन्। कलकत्तामा भएको सम्झौता अनुसार बकया तलब र ज्याला ३१ मार्च २०२६ भित्र भुक्तानी गर्ने, पुराना बक्यौता प्रत्येक महिना १५ प्रतिशतका दरले अप्रेलको पहिलो साताबाट भुक्तानी सुरु गर्ने सहमति भएको थियो। सम्झौता अनुसार १५ अप्रेलभित्र रुपियाँ ३ करोड, १५ लाख, ८ हजार ३ सय ५७ रुपियाँ पीएफ पनि मालिकले भुक्तान गर्नु पर्ने थियो साथै अवकाशप्राप्त ७६ जना श्रमिकहरूको बाँकी ग्राच्युटी प्रत्येक महिना ३ लाख रुपियाँका दरले भुक्तानी गर्ने निर्णय गरिएको थियो। तर मालिकले उक्त सम्झौताका कुनै पनि बुँदा कार्यान्वयन नगरिएको आरोप छ। यसले श्रमिकहरू र सरकारबीचको विश्वासमाथि गम्भीर आघात पुर्याएको श्रमिकहरूको आरोप छ। यसको विरोधमा चियाबारी श्रमिकहरुले खरसाङमा अवस्थित सह श्रमायुक्तको कार्यालय अघि धरणा प्रदर्शन पनि गरेका थिए। यसको साथै श्रमिकहरुले खरसाङ बजारमा पनि विरोध रैलीको आयोजना गरेका थिए। हिल प्लान्टेसन इम्प्लोइज युनियनले २०२६ को विधानसभा चुनाउ अघि नै श्रमिकहरूलाई न्याय दिलाउन सरकारसँग माग गरेको छ। युनियनले चेतावनी दिँदै भनेको छ कि यदि २३ अप्रेलभित्र श्रम विभागले हस्तक्षेप गरी बक्यौता रकम भुक्तानी गराउन सकेन भने आन्दोलन अझै कडा बनाइनेछ। स्मरण रहोस्,
गत १० मार्च २०२६ मा पश्चिम बंगाल श्रम विभागको आह्वानमा आयोजित त्रिपक्षीय बैठकमा लङभ्यू चिया बगानमा सक्रिय सबै ट्रेड युनियनहरू सहभागी भएका थिए। उक्त बैठक श्रम मन्त्री मलय घटकको उपस्थितिमा सम्पन्न भएको थियो भने बैठकको अध्यक्षता श्रम विभागका सचिव अवनिन्द्र सिंहले गरेका थिए। यसको साथै श्रम आयुक्त डा. एम.डी. इखलाक इस्लाम, अतिरिक्त श्रम आयुक्त अर्नाल मजुमदार, विशाल कुमार शाह लगायत अन्य उच्च अधिकारीहरू पनि उपस्थित थिए। उत्तर बंगाल क्षेत्रका अतिरिक्त श्रम आयुक्त पार्थ बिस्वास, जीटीएका उप-श्रम आयुक्त आर्थर होरो तथा जीटीएका उपाध्यक्ष राजेश चौहानको पनि उपस्थिति रहेको थियो। बैठकमा बगान व्यवस्थापन पक्षबाट मालिक गोविन्द गर्ग, एचआर शाबरी घोष र प्रबन्धक अजीत पाल सिंह सहभागी भएका थिए।









