एनबीबीजीसीले ‘स्टार कलेज’ मान्यता पायो, विज्ञान विभागका लागि १ करोड सहयोग प्राप्त गर्ने

FB_IMG_1776700786799

गान्ताेक: सिक्किमको नार बहादुर भण्डारी सरकारी महाविद्यालय (एनबीबीजीसी), तादोङलाई जैव–प्रविधि विभागअन्तर्गतको ‘स्टार कलेज योजना’मा छनोट गरियो। यससँगै उक्त महाविद्यालय सिक्किम तथा उत्तर बंगाल क्षेत्रबाट यस्तो मान्यता प्राप्त गर्ने पहिलो शैक्षिक संस्था बन्यो।
महाविद्यालयका प्राचार्य डा. डी. पुरोहित का अनुसार, देशभरका ३४ संस्थामध्ये प्रारम्भिक छनोटमा परेको एनबीबीजीसीले गत मार्चको दोस्रो साता नयाँ दिल्लीस्थित विभागीय मुख्यालयमा अन्तिम प्रस्ताव प्रस्तुत गरेको थियो।
अन्तिम प्रस्तुतीकरण समन्वयक डा. सत्यदीप एस. क्षेत्री तथा सह–समन्वयक डा. मिङ्मा टी. शेर्पा ले गरे। प्राचार्यका अनुसार, हरेक वर्ष यस योजनाअन्तर्गत सीमित रूपमा मात्र १० देखि १५ महाविद्यालय छनोट गरिन्छ।
प्रस्ताव तयारीका क्रममा महाविद्यालयले हिन्दू कलेज, दिल्ली विश्वविद्यालय बाट मार्गदर्शन सहयोग प्राप्त गरेको थियो। यी दुई संस्थाबीच भारत सरकारको ‘विद्या विस्तार कार्यक्रम’ अन्तर्गत सहकार्य जारी रहेको छ।
यस योजनाअन्तर्गत महाविद्यालयले आगामी तीन वर्षमा करिब १ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग प्राप्त गर्ने अपेक्षा गरियो। प्राप्त रकम प्रयोगशाला सुदृढीकरण, अत्याधुनिक वैज्ञानिक उपकरण खरिद, तथा विद्यार्थी र शिक्षकका लागि कार्यशाला, गोष्ठी र तालिम कार्यक्रम सञ्चालनमा खर्च गरिनेछ।
उक्त पहलले अन्तरविषयगत अध्ययन प्रवर्द्धन, व्यावहारिक सीप विकास तथा स्नातक तहमा अनुसन्धानमुखी शिक्षालाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।
यस उपलब्धिप्रति प्राचार्य, प्राध्यापक तथा विद्यार्थीहरूले गर्व व्यक्त गरे। उनीहरूका अनुसार, यसले क्षेत्रको विज्ञान शिक्षाको गुणस्तरलाई उल्लेखनीय रूपमा उकास्नेछ।
“एनबीबीजीसीले पूर्वी हिमाली क्षेत्रमा नवप्रवर्तन र शैक्षिक उत्कृष्टता प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ,” प्राचार्य डा. पुरोहितले बताए।

About Author

Advertisement