नयाँ दिल्ली: ईरानको आन्तरिक सत्ता राजनीतिमा आएको नाटकीय मोडले पश्चिम एसियामा पुनः युद्धको कालो बादल मडारिएको छ। ‘द न्यूयोर्क पोस्ट’ र ‘इन्स्टिच्युट फर द स्टडी अफ वार’ को पछिल्लो रिपोर्ट अनुसार ईरानको कट्टरपन्थी सैन्य संगठन ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ (आईआरजीसी) ले देशको सैन्य र कूटनीतिक निर्णय प्रक्रियामा पूर्ण कब्जा जमाएको छ। यो परिवर्तनसँगै उदारवादी नेताहरू किनारा लागेका छन् भने अमेरिकासँगको वार्ता लगभग भंग हुने अवस्थामा पुगेको छ।
सत्तामा भएको यो फेरबदलका कारण कूटनीतिक स्तरमा गरिएका महत्वपूर्ण निर्णयहरू उल्टिएका छन्। ईरानका विदेशमन्त्री अब्बास अराघचीले ट्रम्प प्रशासनसँगको वार्तापछि विश्वव्यापी आपूर्ति श्रृंखलाका लागि महत्वपूर्ण मानिने ‘होर्मुज स्ट्रेट’ खुला गर्ने घोषणा गरेका थिए। तर, आईआरजीसी का कमान्डर अहमद वाहिदी र उनका सहयोगीहरूले विदेशमन्त्रीको उक्त निर्णयलाई बदर गरिदिएका छन्। उनीहरूले अमेरिकी दबाबको जवाफमा होर्मुज स्ट्रेट बन्द नै रहनुपर्ने अडान लिएका छन्। यो कदमले खाडी क्षेत्रमा रहेका सयौँ मालवाहक जहाजहरू अलपत्र परेका छन्।
रिपोर्टका अनुसार, ईरानको ‘सुप्रीम नेशनल सेक्युरिटी काउन्सिल’ मा पनि कट्टरपन्थीहरूको पकड बलियो भएको छ। विदेशमन्त्री अराघचीले वार्तामा लचकता देखाएको भन्दै उनीमाथि अधिकार क्षेत्र उल्लंघनको आरोप लगाइएको छ। यसै विवादका कारण वार्ता टोलीलाई तेहरान फिर्ता बोलाइएको छ, जसले गर्दा वासिङ्टनसँगको संवादको सम्भावना क्षीण बनेको छ। अहिले ईरानका प्रमुख निर्णयकर्ताका रूपमा आईआरजीसीका कमान्डर वाहिदी र सर्वोच्च नेता मुज्तबा खामेनेई उदाएका छन्।
होर्मुज स्ट्रेटमा तनाव बढ्दै जाँदा ईरानले यो मार्ग भएर जाने जहाजहरूमाथि आक्रमण तीव्र पारेको छ। यसै क्रममा दुईवटा भारतीय जहाजमाथि पनि गोलीबारी भएको छ। अर्कोतर्फ, अमेरिकाले ईरानको कार्गो जहाजमाथि हमला गरी त्यसलाई आफ्नो नियन्त्रणमा लिएको छ। सत्तामा आएको यो परिवर्तन र समुद्रमा जारी सैन्य कारबाहीले हालैका दिनमा ईरान नरम बन्दै गएको वासिङ्टनको दाबीलाई समेत चुनौती दिएको छ।










