गान्तोक: आज सिक्किममा ६७ औं माटो कवि जीवन थिङ जयन्ती पालन गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै भीम रावतले भने, सिक्किमका माटो कवि जीवन थिङको नाममा बाटोको नामाकरण भएको छ तर तिनकै नाम लिएर आफ्नो ठेगाना बताउन हिच्किचाउने स्थिति छ। जीवन थिङले जुन सन्देश हामीलाई छाडेर गएका छन्? त्यसमा आत्मचिन्तन गर्नुपर्ने समय आएको छ। गान्तोकमा आयोजित ६७ औं माटो कवि जीवन थिङ जयन्तीमा आफ्नो सम्बोधन राख्दै व्यक्त गरे।
चिया कविता, सिक्किम र जर्नलिस्ट युनियन अफ् सिक्किमको संयुक्त आयोजनमा राजधानीमा माटो कवि जीवन थिङको जन्म दिवस पालन गरियो। संक्षिप्त कार्यक्रमबीच सम्पन्न यस जन्म जयन्तीमा कवि थिङका काव्य वाचन, उनको चिन्तन धारमाथि चर्चा गरिएको थियो। कार्यक्रममा विशेष अतिथिका रूपमा विविध कला एकाडेमीका अध्यक्ष तथा वरिष्ठ वास्तुकार किरण रसाइली रहेका थिए।
फगत २३ वर्षको अल्पायु लिएर आएका असाधरण साहित्यिक प्रतिभाका धनी कवि थिङको विचारलाई समयले विर्सन नसक्ने र हरेक पल्ट समय सापेक्ष रूपमा त्यसमाथि चिन्तन गरिनुपर्ने उपस्थित कवि-पत्रकार र वक्ताहरूले मन्तव्य पोखेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथि किरण रसाइलीले समाजले इतिहास वर्तमान र भविष्यको निम्ति सोचेर कार्य गर्नुपर्ने बताए। उनले कवि थिङले जुन सन्देश दिएर गएका छन् त्यो सिक्किमले मनन गर्नुपर्ने रहेको बताए। यसैगरि उनले आजको कार्यक्रममा विगत वर्तमान र भविष्यको उपस्थिति रहेकोमा खुसी व्यक्त गरे।
कार्यक्रममा कवि एनबी घिरिमेले म बेथलेहम शहरको हिम्पोपोटामस, मणिता तामाङ सपनाको देश र भीम रावतले संघारमै आएर स्याल रोएपछि कविता सुनाउँदै जीवन थिङका विचारको संकथनमा भाग लिएका थिए। यसैगरि कवि सुजल प्रधानले मौलिक कविता वाचन गरेका थिए।
संक्षिप्त कार्यक्रमबीच माटो कवि थिङका कविता र उनको विचारबारे मन्तव्य व्यक्त गर्दै चर्चामा सहभागिता जनाएका थिए। चिया कविताको पक्षमा अम्बर लाछिकाठीले स्वागत सम्बोधन राखेका थिए। कवि प्रवीण खालिङद्वारा सञ्चालित कार्यक्रममा कवि थिङको तस्वीरमा माल्यार्पण गरेर उनलाई सम्झना गरिएको थियो। कार्यक्रममा युवा पत्रकार साथै विद्यार्थीहरूको पनि उपस्थिति रहेको थियो।










