कलकत्ताको न्यू अलीपुर कलेजमा भानु जयन्ती समारोह सम्पन्न

IMG-20230717-WA0416.jpg

सोनादा: कलकत्ताको न्यू अलिपुर कलेजको भाषा संगम सेल तत्वावधानमा कलेज परिसरमा २०९औं भानु जयन्ती समारोह सम्पन्न भएको थियो। भानुको प्रतिकृतिमा कलेजका प्राचार्य र अतिथिहरूद्वारा माल्यार्पण भई शुआरम्भ गरिएको उक्त भानु जयन्ती समारोहमा कलेजको भाषा संगम सेलको तत्वावधानमा प्रकाशित ‘भाषा संगम’ पत्रिका र भित्ते पत्रिका ‘समरस्य’ नामक बहुभाषिक पत्रिकाको विमोचन भएको थियो। देशबन्धु कलेज फर गर्ल्स, कलकत्ताको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रममा अतिथि, विद्वान तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो। ‘भाषा संगम’ पत्रिकाका प्रधान सम्पादक डा. अनिरुद्ध कर र सम्पादकद्वय प्रा.पूजा राई र डा. भिक्टर मुखर्जीले सम्पादन गरेका थिए। पत्रिकालाई पूर्ण रूपमा डा. अनिरुद्ध करद्वारा डिजाइन गरिएको थियो भने भित्ते पत्रिका कलेजका विद्यार्थीहरूले डिजाइन गरेका थिए। भानुभक्त आचार्यको साहित्यिक योगदानप्रति श्रद्धाञ्जलि अर्पण गर्दै कार्यक्रमको सुरुवातमा वैदिक मन्त्रको साथमा विद्यार्थीहरूले रामायण पाठ गरेका थिए।कलेजको कम्प्यूटर विज्ञान विभागका सहायक प्राध्यापक प्रा. पूजा राईले भारतीय समाजमा भानुभक्त आचार्यको रामायण तथा उनको भाषाको प्रभाव तथा भानुको जीवनी, काम र नेपाली साहित्य र भाषामा उनको गहिरो प्रभावबारेमा सारगर्भित वक्तव्य दिएकी थिईन्। उनको वक्तव्यले विभिन्न कलेजबाट उपस्थित प्राध्यापक- प्राध्यापिकाहरूले भानु र नेपाली भाषाबारेमा धेरै जान्ने सुअवसर पाएका थिए।
न्यु अलिपुर कलेजका प्राचार्य डा. जयदीप सारंगीले स्वागत मन्तव्य राख्दै उपस्थित सहभागी, सहयोगीहरू सबैलाई कृतज्ञता व्यक्त गरेका थिए। उनले भाषिक विविधताको महत्वलाई जोड दिँदै विमोचित बहुभाषिक पत्रिका भाषा संगमको महत्वबारेमा प्रकाश पारेका थिए। जुनै पनि जातिको संस्कृतिको जगेरामा भाषाको शक्ति बारेमा प्रष्ट पारेका थिए। कलेजको आईक्युएसीका संयोजक डा. ध्रुबज्योति ब्यानर्जीले कलेजले शिक्षाको क्षेत्रमा दिएको उत्कृष्ट प्रवर्द्धनबारे जानकारी दिएका थिए। देशबन्धु कलेज फर गर्ल्सका प्राचार्य डा. अनिता चट्टोपाध्याय गुप्ताले पनि आफ्नो सम्बोधनमा भाषिक विविधताको महत्त्वलाई जोड दिँदै राष्ट्रिय एकता र सशक्तिकरणमा साहित्यको भूमिका बारेमा दर्शाएका थिए। कार्यक्रममा डा. श्रीनिवास सिंह यादवले भानुभक्त आचार्यको जीवनी र कार्य बारेमा प्रकाश पार्दै साहित्यमा उनको योगदान र नेपाली भाषा र संस्कृतिको संरक्षणमा उनको गहिरो प्रभावलाई प्रकाश पारे।
यो उत्सवले आदिकवि भानुभक्त आचार्यलाई श्रद्धाञ्जली मात्र नभई अनेपाली विद्वान जमातलाई भानुको कार्यहरूको गहिरो प्रभावको बारेमा थप बुझाइ र चेतना जगाउने काम भएको थियो। नेपाली भाषीहरू प्राध्यापक – प्राध्यापिका र विद्यार्थीहरू एक हातको औंलीमा मात्र गन्न सक्ने स्थितिमा रहेको कोलकाताको न्यु अलिपुर कलेजमा यसरी भानु जयन्ती पालन हुनु एकता र सद्भावनाको प्रतिक रहेको कुरो बताउँदै कलेजका भाषा संगम सेलका संयोजक प्रा. पूजा राईले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने आयोजक, सहभागी, स्वयंसेवक, प्रायोजक लगायत सबैमा हार्दिक कृतज्ञता व्यक्त गरे। सबैको सामूहिक प्रयास र समर्थनले कार्यक्रमलाई भाषिक विविधताको स्मरणीय र प्रभावकारी उत्सव बनाउनमा कोलकाताको न्यू अलिपुर कलेजमा भानु जयन्ती समारोहले भारतको भाषिक सम्पदालाई अक्षुण्ण राखेको बताइएको छ। त्ययरी नै विमोचित बहुभाषिक पत्रिकाले भाषिक विविधताको संरक्षण र सम्बर्द्धन हुने कुरो बताउँदै यसरी कोलकताको आफ्नो कार्यस्थल न्यु अलिपुर कलेजमा भानु जयन्ती भव्य रूपमा मनाउन पाउँदा साह्रै हर्ष लागेको कुरो प्रा.पूजा राईले बताईन्।

About Author

Advertisement