खरसाङ: गोरूबथान खण्डमा पञ्चायत समितिको बोर्ड भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बनिने भएको छ। आज गोरूबथान खण्ड समितिको १२ जना पञ्चायत समितिको सदस्यहरू खरसाङ आएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापालाई भेटेर गोरूबथान खण्ड समितिको बोर्ड भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बनिने भएको तय भएको छ। गोरूबथान खण्ड अन्तर्गत पर्ने ३ वटा समष्टीहरू र ११ वटा ग्राम पञ्चायतहरूमा रहेको २२ वटा पञ्चायत समितिको सिटहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले १० वटामा जीत हाँसिल गरेका थिए भने आज दुईजना निर्दलीय पञ्चायत समितिको प्रार्थीहरूले खरसाङ आएर पार्टी अध्यक्ष अनित थापालाई भेटेर भगोप्रमोलाई समर्थन गरेपछि गोरूबथान खण्ड समितिमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको जम्मा २२ मा १२ सिटहरू भएपछि अब भगोप्रमोले बोर्ड बनाउने भएको छ। गोरूबथानका सभासद रतन थापाको अगुवाईमा गोरूबथान खण्ड अन्तर्गत पर्ने १२ जना पञ्चायत समितिको बिजय प्रार्थीहरू खरसाङ आएर आज पार्टी अध्यक्ष अनित थापासित भेटघाट गरेका थिए। सबैलाई पार्टी अध्यक्ष अनित थापाले खदार्पणसहित जीतको शुभकामना दिएका थिए भने बिजय भएका सबै पञ्चायत समितिको सदस्यहरूलाई आफ्नो तर्फबाट केही सल्लाह सुझावहरू पनि दिएका थिए। पार्टी अध्यक्ष अनित थापाले पञ्चायत समितिको सबैलाई जनताको सेवा गर्नलाई आह्वान् गर्दै तपाईहरू गाउँका जनतासित सम्बन्धित रहेकोले सबैसित मीठो बोली बोल्ने तथा कुनै पनि कुरा जनताको लागि सक्दिन होइन तर माथिल्लो तहसम्म लानलाई सहयोग गर्ने आह्वान् गरेका छन्। गोरूबथान खण्ड समितिको पञ्चायत समितिको दुईजना निर्दलीय प्रार्थीहरू भागोप्रमोमा आज सामेल भएपछि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका सदस्यहरु १२ जना पुगेका छन्। अाज खरसाङमा आएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापालाई भेट्ने दुईजना निर्दलीयहरूसहित भगोप्रमोको १२ जना पञ्चायत समितिको सदस्यहरूमा स्मिता सोताङ (पाटेन् गोदोक), सोनाम लेप्चा (कुमाई), शरण राई (साम्सिङ), मिङमा शेर्पा (गोरुबथान-२), सोनाम भोटिया (गोरुबथान-२), देवराज सुब्बा (रोङ्गो), पञ्च कुमार राई (निम), करुणा छेत्री (पोख्रेबुङ्), सूर्यमणि राई (दालिम), कुमार थापा (आहाले), शिशिर प्रधान (गोरुबथान -१) र भोटु दर्नाल (गोरुबथान -१) आदि रहेका छन्। २२ जनाको पञ्चायत समिति रहेको गोरूबथान खण्ड समितिमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको १२ जना सदस्यहरू भएपछि अब भगोप्रमोले बोर्ड बनाउने निश्चित भएको छ।

यस भेटघाट सभापछि पत्रकारहरूसित कुराकानी गर्दै निर्दलीय प्रार्थीको रुपमा चुनाव जितेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई समर्थन गरेका गोरूबथान खण्ड समितिको पञ्चायत समितिको सदस्य सोनाम भोटियाले आफु २०१७ देखि पार्टीमा रहेको तर यसपालीको पञ्चायत चुनावमा टिकट वितरणमा असन्तुष्टी भएपछि निर्दलीय प्रार्थीको रुपमा चुनाव मैदानमा उत्रेर जितेर आएको अनि जनताको सेवा र विकासको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको बताएका छन्। उनले आफु पार्टीको कार्यकर्ता भएर नै कार्य गरिरहेको बताउँदै जीतपछि जनताको हितमा नै पार्टीमा सामेल भएको जानकारी गराएका छन्।











