खरसाङ: खरसाङ ब्लक कांग्रेस कमिटीले सांसदसँग जोडिएको भनिएको १५ प्रतिशत कमिसनसम्बन्धी प्रकरणलाई गम्भीरतापूर्वक लिँदै यस विषयमा निष्पक्ष, पारदर्शी र उच्चस्तरीय छानबिन गरिनुपर्ने माग गरेको छ। यस विषयमा खरसाङ कांग्रेस कमिटीको तर्फबाट जिल्ला सचिव बानी बिलास खाती र खरसाङ ब्लक कंग्रेस कमिटीको सभापति उदय पोर्तेलले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन् -‘कुनै पनि व्यक्ति वा पक्षको अन्धसमर्थन गर्दैन। हाम्रो स्पष्ट धारणा छ, छानबीन निष्पक्ष हुनुपर्छ र अनुसन्धानबाट जो कोही दोषी प्रमाणित हुन्छ, उसलाई कानुन अनुसार कडा कारबाही गरिनुपर्छ। पद, राजनीतिक दल वा व्यक्तिगत प्रभावका आधारमा कसैले पनि उन्मुक्ति पाउनु हुँदैन।पहाडका जनताले विकास, समृद्धि, रोजगारी र आधारभूत सुविधाको ठूलो आशा तथा भरोसा राखेर भारतीय जनता पार्टीलाई आफ्नो अमूल्य मत दिएका हुन्। तर विकास र जनताको हितसँग सम्बन्धित काममा कमिसनको आरोप उठ्नु अत्यन्तै चिन्ताजनक विषय हो। जनताले चाहेको सुशासन र विकास हो,भ्रष्टाचारसम्बन्धी विवाद होइन। त्यसैले सम्बन्धित निकायले यस प्रकरणको सत्यतथ्य सार्वजनिक गर्दै आवश्यक अनुसन्धान तत्काल अघि बढाउनुपर्छ।’
दुवैले यदि निष्पक्ष छानबीनबाट सम्बन्धित सांसद वा विधायकको संलग्नता तथा दोष प्रमाणित हुन्छ भने उनीहरूले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने माग खरसाङ ब्लक कांग्रेस कमिटीको तर्फबाट गरेका छन्। यसको साथै दोषी पाइने सबै व्यक्तिमाथि कानुनबमोजिम कारबाही गरिनुपर्छ भनी माग गरेका छन्। यस विषयमा दुवैले भने, ‘हाम्रो उद्देश्य कसैलाई राजनीतिक प्रतिशोधका आधारमा आरोप लगाउनु होइन, बरु जनताको विश्वासको रक्षा गर्नु, सार्वजनिक जीवनमा पारदर्शिता कायम गर्नु र पहाडको वास्तविक विकास सुनिश्चित गर्नु हो।
यस विषयमा निष्पक्ष छानबिन र जवाफदेहिताका लागि सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराउँदछौँ।’





