गान्तोक: सिक्किममा पछिल्लो समय साइबर ठगीका घटनाहरू तीव्र रूपमा बढ्न थालेका छन्। पछिल्लो घटनामा गान्तोक जिल्लाको सिङताम निवासी एक व्यक्तिले अज्ञात व्यक्तिको प्रलोभनमा परी ६ लाख ५० हजार ८० रुपैयाँ गुमाएका छन्।
प्रहरीका अनुसार पीडित व्यक्तिलाई एउटा अपरिचित मोबाइल नम्बरबाट फोन आएको थियो। फोन गर्ने व्यक्तिले उनलाई मोबाइलमा आएको ओटीपी सेयर गर्न आग्रह गरेका थिए। व्यस्तताका कारण ती व्यक्तिले कल गर्नेमाथि विश्वास गर्दै ओटीपी उपलब्ध गराएका थिए।
ओटीपी पाएको केही समयमै गत अप्रिल १८ का दिन विभिन्न आईएमपीएस कारोबारमार्फत उनको बैंक खाताबाट ६ लाख ५० हजार ८० रुपैयाँ ट्रान्सफर भएको पाइएको छ। आफ्नो खाताबाट ठूलो रकम काटिएको थाहा पाएपछि बैंक पुगेका उनले आफू ठगीको शिकार भएको चाल पाएका थिए।
पीडितले यसबारे राष्ट्रिय साइबर अपराध रिपोर्टिङ पोर्टल (एनसीआरपी) मार्फत उजुरी दर्ता गराएका छन्। प्रहरीले अज्ञात ठगको खोजी गर्नुका साथै सर्वसाधारणलाई आफ्नो संवेदनशील बैंकिङ विवरण र ओटीपी कसैलाई पनि सेयर नगर्न पुनः सचेत गराएको छ।









