गान्तोकमा राष्ट्रिय प्रविधि तथा न्यायिक सम्मेलनको तयारी​

n7092029971776704446572c2667861d7fb99f2d34c78dd4600fa3aaa2fddf625340e46e975249c1311395e

गान्तोक: ​राजधानी गान्तोकमा आगामी मे १ र २ मा आयोजना हुने ‘राष्ट्रिय प्रविधि तथा न्यायिक शिक्षा सम्मेलन’ को तयारीका लागि गान्तोकस्थित टाशीलिङ सचिवालयमा उच्चस्तरीय समन्वय बैठक सम्पन्न भएको छ। सिक्किम उच्च न्यायालयका अधिकारीहरूद्वारा आयोजित उक्त बैठकको अध्यक्षता सिक्किम सरकारका मुख्य सचिव आर. तेलाङले गरेका थिए।
​सम्मेलनमा भारतका ५३औं मुख्य न्यायाधीश सूर्य कान्त, भारतको सर्वोच्च अदालतका न्यायाधीशहरू, विभिन्न राज्यका उच्च अदालतका न्यायाधीशहरूका साथै विदेशी राजदूतहरूको समेत उपस्थिति रहने बताइएको छ।
​मुख्य सचिव तेलाङले बैठकमा विशिष्ट अतिथिहरूको प्रोटोकल, सुरक्षा व्यवस्था, स्वास्थ्य सेवा, कार्यक्रम स्थलको तयारी र सांस्कृतिक प्रस्तुतिबारे विस्तृत समीक्षा गरे। उनले सम्मेलनलाई भव्य र व्यवस्थित बनाउन यातायात, आवास, सडक मर्मत तथा शहरको सौन्दर्यीकरणमा विशेष ध्यान दिन निर्देशन दिएका छन्। “यति ठूलो स्तरको कार्यक्रमको सफलताका लागि सबै विभागबीच आपसी समन्वय र पूर्ण प्रतिबद्धता आवश्यक छ,” मुख्य सचिवले भने।
​बैठकमा गान्तोक र मङ्गनका जिल्लापालहरू (डिस्ट्रिक्ट कलेक्टर) भिडियो कन्फरेन्स मार्फत सहभागी भएका थिए। बैठकमा सिक्किमका पुलिस महानिदेशक अक्षय सचदेव, पर्यटन विभागका अतिरिक्त मुख्य सचिव सीएस राव, शहरी विकास विभागका सचिव जितेन्द्र सिंह राजे लगायत विभिन्न विभागका प्रमुखहरू, सिक्किम न्यायिक एकेडेमी र भारतीय सेनाको १७ माउन्टेन डिभिजनका अधिकारीहरूको उपस्थिति रहेको थियो।
​दुई दिने यस सम्मेलनले न्याय सम्पादनमा प्रविधिको प्रयोग र न्यायिक शिक्षाको समसामयिक विषयमा महत्वपूर्ण छलफल गर्ने अपेक्षा गरिएको छ।

About Author

Advertisement