इजरायलमा कालेबुङका राजीव आचार्यको निधन

IMG-20260821-WA0051

सांसद राजु विष्टसँग कूटनीतिक र कानुनी पहलको माग

दार्जिलिङ: इजरायलमा केयरगिभरका रूपमा कार्यरत कालेबुङका राजीव आचार्यको दुखद निधनपछि गोर्खा युथ एक्टिभिस्ट नेटवर्क(ज्ञान)ले दार्जिलिङका सांसद राजु विष्टसमक्ष तत्काल कूटनीतिक तथा कानुनी हस्तक्षेपको माग गरेको छ। ज्ञानका प्रमुख संयोजक तथा अधिवक्ता बिरेन्द्र रसाइलीको नेतृत्वमा रहेको एक प्रतिनिधिमण्डलले शुक्रबार बिहान सांसद विष्टको कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो।
​कालेबुङ जिल्लाको काफ्ले गाउँ, लोवर इच्छे बस्तीका निवासी ३८ वर्षीय आचार्यको गत २३ जुलाईमा इजरायलमा निधन भएको थियो। प्राप्त जानकारीअनुसार उनको कथित हत्याको अभियोगमा ३१ वर्षीय अवियोर जाकेनविरुद्ध जेरुसेलम जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ। संस्थाले इजरायलको न्यायिक स्वतन्त्रताको सम्मान गर्दै निष्पक्ष छानबिन र पीडित परिवारका लागि कन्सुलर सहायताको माग गरेको छ।
​सांसद विष्टमार्फत भारत सरकारको विदेश मन्त्रालय र इजरायलस्थित भारतीय दूतावाससँग समन्वय गरी परिवारलाई बीमा, क्षतिपूर्ति र कानुनी हक दिलाउन आग्रह गरिएको छ। यसका साथै, विदेशमा कार्यरत गोर्खा कामदारहरूको सुरक्षाका लागि स्वैच्छिक दर्ता प्रणाली, आपत्कालीन सम्पर्क र प्रस्थानपूर्व सुरक्षा तालिमको व्यवस्था गर्न समेत माग गरिएको छ। यो पत्रको प्रतिलिपि विदेशमन्त्री, विदेश सचिव तथा कालेबुङका जिल्ला अधिकारीलाई पनि पठाइएको छ।

About Author

Advertisement