खरसाङ: खरसाङको डाउहिल क्षेत्रका महिलाहरुद्वारा गठित आस्था सेवा समितिको आयोजनामा शनिवार रक्तदान शिविरको आयोजना गरिएको छ। उक्त रक्तदान शिविर खरसाङको डाउहिलस्थित सुनौलो परिवार सामुदायिक भवनमा सम्पन्न भएको छ। उक्त रक्तदान शिविरमा खरसाङ महकुमा अस्पतालका डाक्टर पीके पोद्दार उपस्थित रहेका थिए भने उनीसितै नर्स निरन राई, काउन्सिलर सुनिल गिरी, टेक्निसियन अजय पाण्डे लगायत कर्मचारीहरु उपस्थित रहेका थिए। उक्त रक्तदान शिविर शुरु हुन अघि राष्ट्रपिता महात्मा गान्धीको तस्वीरमा धुप दीप प्रज्वलन गरेर श्रध्दाञ्जली अर्पण गरिएको छ। यस अवसरमा डाक्टर पीके पोद्दार, आस्था सेवा समितिकी अध्यक्षा उषाकिरण तामाङ, सचिव संगीता प्रधान, कोषाध्यक्षा अमृता छेत्री लगायत अन्यको बाहुलीबाट खदार्पणसहित श्रध्दाञ्जली अर्पण गरिएको छ। उक्त रक्तदान शिविरमा जम्मा १७ जनाले आफ्नो बहुमूल्य रगत दान गरेका थिए। डाउहिल क्षेत्रमा २०२० सालमा स्थापना भएको आस्था सेवा समितिले कोविडको समयदेखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन्। यस क्रममा विभिन्न बिमारीहरुलाई सहयोग, वृध्दाश्रममा सहयोग, गाउँ घरमा सर सफाई साथै विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आईरहेका छन्। यसै क्रममा आस्था सेवा समितिको आयोजनामा यसपाली रक्तदान शिविरको आयोजना गरिएको छ।

आज संकलन गरिएको रगत सबै खरसाङ महकुमा अस्पतालमा जमा गरिने भएको छ। यस रक्तदान शिविरमा उपस्थित डाक्टर,नर्स लगायत सम्पूर्ण कर्मचारीहरूलाई आस्था सेवा समितिको तर्फबाट खदार्पण गरेर कृतज्ञता प्रकट गरिएको छ। यस रक्तदान शिविर विषयमा पत्रकारहरुसित कुराकानी गर्दै आस्था सेवा समितिकी अध्यक्षा उषाकिरण तामाङले विस्तृत रुपमा जानकारी गराएकी छन्।





