दार्जिलिङ:
पश्चिम बङ्गाल सरकारको संसदीय मामिला विभागद्वारा आयोजित कलेजहरूका लागि जिल्लास्तरीय युवा संसद प्रतियोगिता २०२६–२७ को आयोजना दार्जिलिङस्थित गोर्खा रङ्गमञ्च भवनमा साउथफिल्ड कलेज, दार्जिलिङको आयोजनामा सम्पन्न भयो।
दार्जिलिङ जिल्लाका मिरिक डिग्री कलेजबाहेक सातवटा कलेजहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए। युवा संसद प्रतियोगितासँगै प्रश्नोत्तरी अनि एक्स्टेम्पोर तथा निबन्ध लेखन प्रतियोगिता पनि आयोजना गरिएको थियो। यी प्रतियोगिताहरूले विद्यार्थीहरूलाई आफ्नो ज्ञान, सञ्चार क्षमता, विश्लेषणात्मक दक्षता, सिर्जनशीलता तथा तत्काल अभिव्यक्ति दिन सक्ने क्षमताको प्रदर्शन गर्ने अवसर प्रदान गरे। कार्यक्रममा दार्जिलिङका विधायक नोमान राई, खरसाङका विधायक सोनाम लामा, जीटीएका मुख्य सचिव स्मृतिरञ्जन मोहन्ती, आइएस तथा साउथफिल्ड कलेज, दार्जिलिङकी प्राचार्य डा. अनुराधा राई लगायतका विशिष्ट अतिथिहरूको गरिमामय उपस्थिति रहेको थियो। उनीहरूको उपस्थितिले कार्यक्रमलाई थप महत्त्वपूर्ण बनाउनुका साथै ज्ञान, नेतृत्व तथा लोकतान्त्रिक सहभागिताको दिशामा अघि बढिरहेका विद्यार्थीहरूलाई प्रेरणा र उत्साह प्रदान गरेको थियो।
युवा संसद प्रतियोगितामा साउथफिल्ड कलेजले जिल्लास्तरमा प्रथम स्थान हासिल गर्यो। कलेजको टोलीले संसदीय प्रक्रियाको सुस्पष्ट समझ, प्रभावकारी सञ्चार, सामूहिक कार्य, अनुशासन तथा संसदीय मर्यादाको उत्कृष्ट प्रदर्शन गर्दै एक सुव्यवस्थित संसदीय बैठक प्रस्तुत गरेको थियो। यो उपलब्धि सहभागी विद्यार्थीहरू, प्राध्यापक/शिक्षक मार्गदर्शकहरू तथा आयोजक टोलीको निरन्तर तयारी, कठोर अभ्यास र सामूहिक प्रयासको परिणाम थियो। साउथफिल्ड कलेजका लागि यो उपलब्धि अझ विशेष महत्त्वपूर्ण रहेको छ, किनभने जिल्लास्तरीय युवा संसद प्रतियोगितामा कलेजले लगातार तेस्रो पटक प्रथम स्थान हासिल गरेको हो। सेन्ट जोसेफ्स कलेजले द्वितीय स्थान तथा सोनादा डिग्री कलेजले तृतीय स्थान हासिल गरे। प्रश्नोत्तरी प्रतियोगितामा बिजनबारी डिग्री कलेजले प्रथम स्थान हासिल गर्यो। दार्जिलिङ गभर्मेन्ट कलेज द्वितीय तथा घुम जोरबङ्लो डिग्री कलेज तृतीय स्थानमा रहे। एक्स्टेम्पोर भाषण प्रतियोगितामा सेन्ट जोसेफ्स कलेजले प्रथम स्थान, खरसाङ कलेजले द्वितीय स्थान तथा दार्जिलिङ गभर्मेन्ट कलेजले तृतीय स्थान हासिल गरे। निबन्ध लेखन प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता तथा विचारपूर्ण प्रस्तुतिहरू देख्न पाइयो। सेन्ट जोसेफ्स कलेजका आदर्श कुमारले प्रथम स्थान, साउथफिल्ड कलेजकी अनुशया छेत्रीले प्रथम उपविजेता तथा खरसाङ कलेजका मेलेन जाल्क्सोले द्वितीय उपविजेता स्थान हासिल गरे। यस कार्यक्रमले विद्यार्थीहरू, शिक्षक–प्राध्यापकहरू तथा सहभागी संस्थाका प्रतिनिधिहरूलाई शैक्षिक सहभागिता, स्वस्थ प्रतिस्पर्धा तथा पारस्परिक सिकाइको वातावरणमा एकै ठाउँमा ल्याएको थियो। यी प्रतियोगिताहरूले विद्यार्थीहरूलाई परम्परागत कक्षाकोठाभन्दा बाहिर गएर लोकतान्त्रिक संस्था तथा संसदीय प्रक्रियासँग प्रत्यक्ष रूपमा परिचित हुने महत्वपूर्ण अवसर प्रदान गरे। यस्ता कार्यक्रमहरूको आयोजनामार्फत साउथफिल्ड कलेजले विद्यार्थीहरूमा बौद्धिक क्षमता, सञ्चार दक्षता तथा नेतृत्व क्षमताको विकासका लागि अर्थपूर्ण मञ्चहरू प्रदान गर्दै आएको छ।





