अतिरिक्त मुख्य सचिवद्वारा पुस्तकालयको उदघाटन

si-2

गान्तोकः शिक्षा विभागका अतिरिक्त मुख्य सचिव आर. तेलाङले आज रोङ्गेक माध्यमिक विद्यालयमा निर्माण गरेको प्रयोगशाला र पुस्तकालयको उद्घाटन गरे। यस उद्घाटन कार्यक्रममा एसकेएम युवा संयोजक टेम्पा ग्याछो लेप्चा, पार्षद पेमा लाम्ठा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि आर. तेलाङले सरकारले जति नै राम्रो विद्यालयको निर्माण गरे तापनि स्थानीयहरूको सहभागिता बिना विद्यालयको विकास हुन नसक्ने मन्तव्य प्रकट गरे। विद्यालयलाई अघि बढाउनको निम्ति स्थानीय पञ्चायत, विद्यालय सञ्चालन समिति र स्थानीय वुद्धिजीविहरूको पनि अहमं भूमिका हुनुपर्ने बताए।

सबैको सक्रिय सहभागितामा मात्र विद्यालयले उन्नति गर्न सक्ने उनले बताए। विशेष गरेर सरकारले विद्यार्थीहरूको निम्ति पूर्वधारको विकास गर्दै आएको हुन्छ, तर स्थानीयहरू सहभागी नभएपछि विद्यालयले उन्नति गर्न नसकेको आफ्नो अनुभव बताए। उनले शिक्षकहरूलाई राष्ट्रिय शिक्षा नीतिबारे बुझ्नु पर्ने आग्रह गर्दै यो विषय बुझेको खण्डमा विद्यार्थीहरूलाई राम्रो मार्गदर्शन दिनसकिने बताए।

शिक्षकवर्गले विद्यार्थीहरूको चासो अनुरूप शिक्षा प्रदान गर्न सकेको खण्डमा विद्यार्थीहरूलाई शिक्षा बोझ नहुने जनाए। कतिपय शिक्षकहरूले विद्यार्थीहरूको चासोलाई बुझ्न नसकेपछि विद्यार्थीहरूलाई उक्त विषयहरू बोझ बन्न गएको पनि उनले अवगत गराए। विद्यार्थीहरूलाई पढनको निम्ति स्थानीय साथै शिक्षकवर्गले राम्रो वातावरण सृजना गर्न सकेको खण्डमा विद्यार्थीहरूको भविष्य उज्जवल हुन सक्ने उनले किटान गरे।

About Author

Advertisement