कीर्ति र कर्ममा सम्झिए दुई सर्जक
सालबारी: शब्द समय सालबारीले शुक्रवार आदिपत्रकार एवम् गोर्खे खबर् कागत्का सम्पादक – प्रकाशक पादरी गङ्गाप्रसाद प्रधान अनि नेपाली कविताकाशका अत्यन्त उज्ज्वल नत्रक्ष कवि एवम् कालजयी गीतहरूका स्रष्टा हरिभक्त कटुवालको जयन्ती पालन गऱ्यो। स्थानीय गोम्देन टि बारस्थित सविता गोम्देन साहित्यिक कक्षमा पालन गरिएको यस जयन्ती कार्यक्रममा लिजेन्डरी नाट्यअभिनेता एवम् परालको आगो फिल्मका नायक टङ्क शर्मा, वरिष्ठ कवि मोहन ठकुरी, कवि एवम् अध्येता ज्ञानेन्द्र खतिवडा, कथाकार /अनुवादक जीत सुनार, लेखक शैलेन्द्र समदर्शी, कवि लीलबहादुर सुनार, लेखक हेमन्त काफ्ले, कवि मणिका प्रधान गुरुङ र शब्द समयका संयोजक निर्मल सिन्चुरीले पादरी गङ्गाप्रसाद प्रधान र हरिभक्त कटुवालमाथि सङ्क्षेपमा आ-आफ्ना मन्तव्य पोखेका थिए। यस अवसरमा मोहन ठकुरी र शैलेन्द्र समदर्शीले हरिभक्तका कटुवालका कविता पनि वाचन गरे। उल्लेखनीय छ, २ जुलाईका दिन कवि/गीतकार हरिभक्त कटुवाल र ४ जुलाईका दिन जन्मेका आदिपत्रकार एवम् गोर्खे खबर् कागत्का सम्पादक पादरी गङ्गाप्रसाद प्रधानको जयन्तीलाई शब्द समयले एकसाथै मनाउनका निम्ति ३ जुलाईलाई निर्धारित गरी प्रतिवर्ष यी दुई सर्जकका जयन्ती पालन गर्दै आइरहेको छ।










