मालबजार: सोमबार बाग्राकोट चियाबारीस्थित भानु मैदानस्थित कम्युनिटी हलमा आदिवासी गोर्खा संयुक्त समितिको प्रथम वर्षगॉंठको अवसरमा महापञ्चायतको आयोजना गरियो| जसमा तराई अनि डुवर्सका विभिन्न संघ-संस्थाहरूले भाग लिएका थिए| आज महापञ्चायत राख्नुको मुख्य उद्देश्य तराई डुवर्समा आदिवासी अनि गोर्खाहरूमाथि अत्याचार भइरहेको छ| चियाबारीमा चिया श्रमिकहरूमाथि सरकार र मालिक मिलेर अत्याचार गरिरहेको छ त्यसलाई कसरी रोक्नुपर्छ| चियाबारीमा वर्षोदेखि बसोबास गर्ने श्रमिकहरूले जमीनको पर्जापट्टा अनि न्यूनतम मजदुरी आजसम्म पाएको छैन| यी सबै विषयलाई लिएर महापञ्चायतको आयोजना गरिएको थियो| आदिवासी गोर्खा संयुक्त समितिको सभापति सघन मोक्तानले भने, ‘आजको दिननै आदिवासी गोर्खा संयुक्त समितिको स्थापना गरिएको थियो| आज जति पनि तराई डुवर्समा आदिवासी अनि गोर्खा समुदायको संघ संस्था र संगठन छन् सबैलाई महापञ्चायतमा सामेल हुनको निम्ति आमन्त्रित गरेका थियौँl’
लगभग तराई डुवर्सको सबै संघ संस्था उपस्थित थिए| ‘हामी सबै एक भएर निर्णय लिनेछौँ कि आउँदो दिनमा हामी आदिवासी र गोर्खा आफ्नो अधिकारलाई लिएर एक भएर सरकारसित लड्नेछौँ,’ उनले भने| यी सबै विषयलाई लिएर आज महापञ्चायतको आयोजना गरिएको थियो| उक्त कार्यक्रममा तराई डुवर्सको ३२ सङ्गठनको वरिष्ठ व्यक्तिहरूले भाग लिएका थिए| कार्यक्रममा सिलगढी गोर्खा मञ्च अनि वरिष्ठ महिला फोरमको अध्यक्ष सुधा पास्सी, उत्तर बङ्गाल चाय श्रमिक सङ्गठनको अध्यक्ष क्रिस्चन खरिया, आदिवासी एकता विकास मञ्चको सदस्य महेश बागे,उत्तर बङ्गाल आदिवासी विकास एवं प्रोग्रेसिव प्लान्टेशन वर्कश युनियनको अध्यक्ष किरण कलान्दी, डुवर्स तराई आदिवासी महिला वेलफेयर सोसाइटीको अध्यक्ष बिनिता टेटे आदि उपस्थित थिए| आदिवासी गोर्खा संयुक्त समितिको अध्यक्ष सघन मोक्तानले भने, ‘आउँदो सोमबार सबै संगठनलाई लिएर एउटा कमिटी बनाइनेछl’










