राष्ट्रपति द्रोपदी मुर्मूको शपथ ग्रहणको अवसरमा भाजपा र आदिवासी संगठनहरूद्वारा र्‍याली

कालचिनी: आज भारतको प्रथम आदिवासी महिला द्रोपदी मुर्मूले राष्ट्रपति पदको शपथ ग्रहण गरेको अवसरमा कालचिनी खण्डको विभिन्न ठाउँहरूमा हर्सोल्लासको साथमा विभिन्न जात्रा अनि र्‍याली सम्पन्न भएको दृश्य परिलक्षित भएको थियो| सोमबार दिउँसो माझी परगाना वेलफेयर सोसाइटीको आयोजनामा हेमिल्टनगञ्जको विश्वनाथपाड़देखि हेमिल्टनगञ्जको चौपतिसम्म यस अवसरमा एउटा र्‍याली निकालिएको थियो भने उक्त र्‍यालीमा मांझी परगाना वेलफेयर सोसाइटीको अलिपुरद्वार जिल्ला सभापति रबि मुर्मू लगायत कालचिनी ब्लक सचिव गोबिन्दा मराण्डी एवम् सन्थाली औ अन्यान्य आदिवासीहरूको सहभागिता रहेको थियो| यसै क्रममा हॉंसीमारामा भाजपा ९ नम्बर मण्डल कमिटीको पक्षबाट पनि एउटा र्‍याली निकालिएको थियो|

उक्त अवसरमा कालचिनी विधायक विशाल लामा लगायत पुर्व विधायक विल्सन चम्पासरी, भाजपा ९ नम्बर मण्डल सभापति रुद्रकुमार मण्डल औ भाजपा जिल्ला नेता प्रदीप कुजूर एवम् अन्यान्यको उपस्थिति रहेको थियो| अर्कोतिर जयगाउँमा पनि आदिवासी विकास परिषद लगायत आदिवासी संगठनहरूको संयुक्त आयोजनामा आज ठूलो र्‍याली निकालिएको थियो| प्रथमपल्ट यसरी देशको राष्ट्रपति पदमा आदिवासी महिलाले शपथ ग्रहण गर्नु ऐतिहासिक क्षण रहेको र देशले आदिवासीको सम्मान प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्नलाई यो र्‍यालीको आयोजना गरिएको आदिवासी नेताहरूले जनाएका छन्|

About Author

Advertisement