दुबई: आईसीसीद्वारा जारी पुरुष टी२० टीमहरूको ताजा ऱ्याङकिंगमा भारत शीर्ष स्थानमा कायम छ। सूर्यकुमार यादवको कप्तानीमा रहने भारत २७५ रेटिंग पोइण्ट्सको साथ शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानमा रहने ईंग्ल्याण्ड (२६२) शीर्ष स्थानदेखि निक्कै पछि रहेको छ। यसरी अष्ट्रेलिया २५८ पोइण्ट्सको साथ ईंग्ल्याण्डको ठीक पछि तेस्रो स्थानमा रहेको छ। यस नयाँ अपडेटमा मई २०२५ पछि खेलिएको म्याचहरूलाई १०० प्रतिशत अनि त्यसअघि दुई सालमा खेलिएको म्याचहरूलाई ५० प्रतिशत महत्त्व दिइएको छ। भारतले यस प्रारूपमा साल २०२४ र २०२६-मा लगातार दुईपल्ट पुरुष टी२० वर्ल्ड कप जितेको छ। टीम ऱ्याङकिंगको शीर्ष ७-मा कुनै फेरबदल भएको छैन, जसले शीर्ष टीमहरूको निरन्तरतालाई दर्शाउँछ। न्यूजील्याण्ड (२४७) चौथो र दक्षिण अफ्रिका (२४४ पोइण्ट्स) पाँचौं स्थानमा रहेको छ। त्यसपछि पाकिस्तान (२४०) र वेष्ट इण्डिज (२३३ पोइण्ट्स) क्रमशः छैटौं र सातौं स्थानमा रहेको छ। बंग्लादेश एक रेटिंग पोइण्ट हासिल गरी आठौं स्थानमा पुगेको छ। श्रीलंका ६ पोइण्ट्स गुमाएर नवौं स्थानमा पुगेको हुनाले बंग्लादेशलाई फाइदा भएको छ। अफगानिस्तान दशौं स्थानमा श्रीलंकाको ठीक पछि रहेको छ। यी दुई टीमबीच केवल दुई पोइण्ट्सको अन्तर रहेको छ। ताजा ऱ्याङकिंगमा अमेरिकाले गतिलो फड्को लगाएको छ। अमेरिका सबैभन्दा अधिक सुधार गर्ने टीमहरूमा सामेल रह्यो अनि ६ रेटिंग पोइण्ट्स हासिल गरी दुई स्थान अघि बढेर १३औं स्थानमा पुगेको छ। नेपाल र ओमानले क्रमशः १७औं र १९औं स्थान हासिल गरेको छ।










