न्यूयोर्क: आईसीसी टी२० वर्ल्ड कपमा भारतले जीतको साथ अभियान शुरु गऱ्यो। भारतले ग्रुप ए-को म्याचमा आयरल्याण्डलाई ८ विकेटले पराजित गऱ्यो। ब्याटिंगको निम्ति मुश्किल परिस्थितिहरूबीच भारतलाई जीत दिलाउनमा पेस बलरहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरे, जसले म्याचमा ८ विकेट हासिल गरे। नासाउ काउण्टी इण्टरनेशनल क्रिकेट स्टेडियमको ड्रप इन पीचमा टस हारेर पहिला ब्याटिंग गर्दै आयरल्याण्डको टीम १६ ओभरमा केवल ९६ रन बनाएर अलआउट भयो। त्यसपछि भारतले १२.२ ओभरमै २ विकेट गुमाएर ९७ रनको लक्ष्यलाई हासिल गऱ्यो। आयरल्याण्डलाई १०० रनभित्रै समेट्नमा भारतीय पेस बलरहरूले ठूलो भूमिका निर्वाह गरे। यसमा हार्दिक पाण्ड्याले सर्वाधिक ३ विकेट लिए। यसबाहेक अर्शदीप सिंह र जसप्रीत बुमराहले २-२ विकेट हासिल गरे। मोहम्मद सिराज र अक्षर पटेलको खातामा पनि १-१ विकेट रह्यो। आयरल्याण्डबाट सातौं नम्बरमा ब्याटिंग गर्ने गेरेथ डीलानीले सर्वाधिक २६ रन बनाए। यसबाहेक जोश लिटलले १४ र कर्टिस केम्फरले १२ रनको योगदान दिए।

जवाफमा भारतले ओपनर विराट कोहली (०१ रन)-लाई तेस्रो ओभरमै गुमाए पनि कप्तान रोहित शर्मा र रिषभ पन्तबीच दोस्रो विकेटको निम्ति भएको ५४ रनको पार्टनरशीपले भारतलाई जीतको नजिक पुऱ्यायो। रोहित ३७ बलमा ४ वटा चौका र ३ वटा छक्काको साथ ५२ रन बनाएर रिटायर्ड हर्ट भए। पन्तले अविजित ३६ रन बनाएर भारतलाई जीत दिलाए। यस विकेटकीपर ब्याटरले २६ बल खेलेर २ वटा छक्का र ३ वटा चौका लगाए। भारतले अब ९ जूनमा चीरप्रतिद्वन्द्वी पाकिस्तानको चुनौती स्वीकार्नेछ।









