आईजीजेएफद्वारा लोवर सोनादा ग्राम पञ्चायतमा आपदा राहत स्रोत–साधनको उपयोगबारे पारदर्शिता र जवाफदेहिताको माग

a3329f2e-475e-4b03-b9f2-890ea165ab70

सोनादा: ईण्डियन गोर्खा जनशक्ति फ्रन्टको रंगबुल धोतरिया रङमुक सिडर्स मुण्डा समष्टी अध्यक्ष तेनछिरिङ तामाङ तथा लोवर सोनादा ग्राम पञ्चायत 2 एकाईकी महासचिव जिना प्रधानले गत वर्ष आएको विनाशकारी आपदापछि राहत तथा पुनर्स्थापनाका लागि विनियोजित सरकारी स्रोत–साधनको उपयोगबारे पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न आज लोवर सोनादा ग्राम पञ्चायत २ कार्यालयमा आयोजित सभामा सहभागिता जनाएका थिए। सभाको क्रममा आईजीजेएफ प्रतिनिधि मण्डलले आपदा राहत तथा पुनर्स्थापना सहयोग वितरणको प्रक्रिया, लाभार्थी छनौटका मापदण्ड तथा सरकारी सहायता प्राप्त गरेका लाभार्थीहरूको विस्तृत विवरण माग गरेको थियो। तर,उपलब्ध गराइएको स्रोत साधनको प्रयोग र लाभार्थी छनौट प्रक्रिया सम्बन्धी सन्तोषजनक जानकारी प्राप्त हुन नसकेको प्रतिनिधि मण्डलले जनाएको छ।
सभापछि प्रतिनिधि मण्डलले सार्वजनिक स्रोत–साधनको प्रयोगमा पारदर्शिता, उत्तरदायित्व तथा सुशासन सुनिश्चित गर्न यस विषयलाई लोकतान्त्रिक र कानुनी माध्यमबाट अगाडि बढाउने निर्णय गरेको जनाएको छ।
यस अवसरमा प्रतिनिधि मण्डलले भनेको छ,
“आपदा राहतका लागि छुट्याइएको सार्वजनिक स्रोत साधन कसरी प्रयोग गरियो भन्ने जानकारी पाउने अधिकार जनतासँग छ। पारदर्शिता र जवाफदेहिता सुशासनका आधारभूत सिद्धान्त हुन्। सम्बन्धित निकायले स्पष्ट र सन्तोषजनक जवाफ नदिएसम्म हामी यो विषयलाई निरन्तर उठाइरहनेछौं।”
इण्डियन गोर्खा जनशक्ति फ्रन्टले आपदाबाट प्रभावित नागरिकहरूको हित संरक्षणप्रति आफ्नो प्रतिबद्धता पुनःदोहोराउँदै सरकारले लक्षित गरेका प्रत्येक वास्तविक लाभार्थीहरुसम्म सहायता पुग्नु पर्नेमा जोड दिएको छ। यसको साथै सार्वजनिक स्रोत–साधनको दुरुपयोग हुन नदिन तथा सम्बन्धित निकायलाई पूर्ण रूपमा जवाफदेही बनाउन पार्टीले आवश्यक सबै लोकतान्त्रिक र कानुनी कदम चाल्ने जनाएको छ।
प्रतिनिधिहरूमा तेन छिरिङ तामाङ, अध्यक्ष, रंगबुल धोतरिया रङमुक सिडर्स मुण्डा समष्टी इन्डियन गोर्खा जनशक्ति फ्रन्ट जिना प्रधान महासचिव, लोवर सोनादा ग्राम पञ्चायत २ एकाई, इण्डियन गोर्खा जनशक्ति फ्रन्टको प्रतिनिधिहरु उपस्थित रहेका थिए।

About Author

Advertisement