गुवाहाटी: असमका मुख्यमन्त्री हिमन्त विश्व सरमाले गोलाघाट जिल्लाको कमारबाँधास्थित बाढी प्रभावित क्षेत्रको भ्रमण गरी राहत तथा उद्धार कार्यको समीक्षा गरेका छन्।
मुख्यमन्त्री सरमाले कमारबाँधाको भास्कर सिनियर बेसिक सेकेन्डरी स्कूलमा स्थापना गरिएको राहत शिविर पुगेर त्यहाँ बसोबास गरिरहेका बाढी पीडितहरूसँग प्रत्यक्ष कुराकानी गरेका छन्। उक्त शिविरमा हाल १७८ जना बाढी प्रभावितहरूले आश्रय लिइरहेका छन्।
स्थलगत निरीक्षणका क्रममा उनले पीडितहरूका दैनिक समस्या, आवश्यकता र भोग्नु परेका जटिलताहरूबारे जानकारी लिएका थिए। मुख्यमन्त्री सरमाले जिल्ला प्रशासन तथा सम्बन्धित विभागीय अधिकारीहरूलाई राहत शिविरमा रहेका नागरिकका सबै आवश्यकताहरू प्राथमिकताका आधारमा तुरुन्त पूरा गर्न कडा निर्देशन दिएका छन्।
असममा पछिल्लो समय आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ भने हजारौँ मानिसहरू विस्थापित भई राहत शिविरमा आश्रय लिन बाध्य भएका छन्।









