गुवाहाटी :असमका मुख्यमन्त्री हिमन्त बिस्व सरमाले राज्यको सार्वजनिक यातायात व्यवस्थालाई प्रविधिमैत्री, सुरक्षित र आधुनिक बनाउने अभियानलाई तीव्रता दिइएको बताएका छन्।
मुख्यमन्त्री सरमाले आफ्नो फेसबुकमार्फत व्यक्त गरेको विचारमा राज्यको विकासका अन्य पक्षसँगै आम नागरिकले दैनिक प्रयोग गर्ने सार्वजनिक यातायात सेवा कति सुरक्षित, सहज र आधुनिक छ भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरेका छन्।
उनका अनुसार यही उद्देश्यले असम राज्य परिवहन निगमअन्तर्गत सञ्चालित सार्वजनिक बस सेवालाई प्रविधिको प्रयोगमार्फत थप सुदृढ बनाइएको छ।
स्मार्ट यातायात व्यवस्थापन प्रणाली लागू भएपछि यात्रुले बसको तत्कालीन अवस्थिति हेर्न सक्ने, स्वचालित टिकट प्रणालीको प्रयोग गर्न सक्ने तथा डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने सुविधा प्राप्त गर्नेछन्। साथै, बस सञ्चालनका लागि थप व्यवस्थित समयतालिका र नियन्त्रण केन्द्रसँग जोडिएको सीसीटीभी निगरानी प्रणालीसमेत उपलब्ध गराइने बताइएको छ।
मुख्यमन्त्री सरमाले विशेषगरी महिला यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राखिएको बताएका छन्। सार्वजनिक यातायातमा आमा तथा दिदीबहिनीहरूले अझ सुरक्षित, ढुक्क र सम्मानजनक रूपमा यात्रा गर्न सकून् भन्ने उद्देश्यले आवश्यक प्रविधि र निगरानी प्रणालीलाई प्रभावकारी बनाइँदै गएको उनको भनाइ छ।
उनले सार्वजनिक यातायातलाई केवल आवागमनको साधनका रूपमा नभई नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण सेवाका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्। आधुनिक प्रविधिको प्रयोगले बस सेवाको व्यवस्थापनमा पारदर्शिता, यात्रुको सुविधा तथा सुरक्षामा थप सुधार आउने अपेक्षा गरिएको छ।





